अत्तरिया – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ ।

कैलालीको टीकापुर नगरपालिका–९ खैरीपुरस्थित सडक खण्डबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख ३३ हजार रुपैयाँ बराबरका हाफ सर्ट, भेस्ट लगायतका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । शुक्रबार प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ तरकारी बजार क्षेत्रबाट अन्दाजी २८ हजार ८ सय रुपैयाँ बराबरको माछा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ ।


















