बाजुरा – बाजुरा हुम्ला जिल्लाको सीमा विवाद घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको टोली लाम्पाटा प्रस्थान गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक विमलराज कँडेलको संयोजकत्वमा रहेको छानबिन टोली घटनास्थल लाम्पाटा प्रस्थान गरेको हो ।
कँडेलसँगै बाजुरा प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहरा, कर्णाली प्रदेश प्रहरीबाट डीएसपी सुगन्ध श्रेष्ठलगायत प्रहरी अधिकार घटनाको छानबिनका लागि लाम्पाटा गइरहेका हुन् ।


गृह मन्त्रालयको आइतबार बसेको आकस्मिक बैठकले उक्त टोलीलाई तत्काल कार्यक्षेत्रमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । यसअघि नै हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको विशेष टोली घटनास्थलमा परिचालन भइसकेको छ ।
लाम्पाटामा बाजुराको हिमाली गाउँपालिकाले प्रहरी चौकी निर्माण सुरु गरेपछि हुम्लावासीले अवरोध गरेका थिए । सो क्रममा २ जेठदेखि ५ गतेसम्म विवाद हुँदा छ जना घाइते भएका थिए । उक्त क्षेत्र आ–आफ्नो जिल्लामा पर्ने बाजुरा र हुम्लावासीको दाबी छ ।
विवाद समाधानका लागि सरकारले अर्को टोली पनि गठन गरिसकेको छ । सीमा विवादको प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन भइसकेको छ ।

















