खाेज्नुहाेस

दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमति

Image
file photo

दार्चुला –  दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्सागुम्बा सङ्कलनका लागि हालसम्म १३८ जनाले अनुमति पत्र (पूर्जी) लिएका छन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम सातादेखि अनुमति पत्र वितरण सुरु गरेकामा सोमबारसम्म उक्त सङ्ख्यामा सङ्कलनकर्ताले अनुमति लिएको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी अरुण चौधरीका अनुसार हालसम्म वितरण गरिएका सबै अनुमति पत्र संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि जारी गरिएको ‘निलो कार्ड’ हुन् । सङ्कलनकर्ताको सहजताका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयसहित जिल्लाका ११ विभिन्न स्थानबाट अनुमति पत्र वितरण भइरहेको छ । संरक्षण क्षेत्रले सङ्कलनकर्ताको भौगोलिक अवस्थाअनुसार तीन प्रकारका परिचयपत्र र शुल्क निर्धारण गरेको छ ।

attariya hospital
navjiwan hospital

संरक्षण क्षेत्रभित्रका स्थानीय नागरिकका लागि ‘निलो कार्ड’ बापत प्रतिव्यक्ति रु ५००, दार्चुला जिल्ला भित्रका अन्य नागरिकका लागि ‘पहेँलो कार्ड’ बापत रु दुई हजार तथा जिल्ला बाहिरका नागरिकका लागि ‘रातो कार्ड’ बापत रु तीन हजार शुल्क तोकिएको छ ।

यार्सागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्सागुम्बा पाइने पाटन प्रत्येक वर्ष जेठ १५ गतेदेखि असार १५ गतेसम्म मात्रै खुला रहने कानुनी व्यवस्था रहेको छ । यद्यपि पाटन खुल्ने समय बाँकी रहे पनि संरक्षण क्षेत्रभित्रका केही स्थानीयवासी वैशाख महिनादेखिनै हिमाली क्षेत्रमा पुगेर यार्सागुम्बा सङ्कलनमा जुटिसकेका छन् ।

दार्चुलाका लोलु, अपीफेद, सतगङ्गा, काटैघट्टे, खोला, चाइमटेला, धरमघर, क्षतिनाम्पा, दोपाखे र दुम्लिङ क्षेत्र यार्सागुम्बा पाइने प्रमुख पाटनका रूपमा परिचित छन् ।