बेलौरी – मापदण्ड विपरीत बेलौरी बजारमा सञ्चालित थल्केदार क्लिनिकलाई बन्द गरिएको छ । शनिवार औषधी व्यवस्था विभाग नेपालगन्जको टोलीले क्लिनिकलाई बन्द गरेको हो ।
क्लिनिक मापदण्डअनुसार सञ्चालन नभएको भन्दै औषधि व्यवस्था विभागको कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीको आधार निरीक्षण गर्दा मापदण्ड नपुगेको देखिएपछि बन्द गरिएको औषधि व्यवस्था विभाग कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक दिनेश प्रसाद न्यौपानेले बताए ।


उनका अनुसार निरीक्षण गर्दा क्लिनक दर्ता भएको कुनै आधार नै भेटिएन । ‘हामी काहा उजुरी आएको थियो ,निरीक्षण गर्दा उजुरीकर्ताको उजुरी बमोजिम नै भेटियो ’ न्यौपानेले भने ‘क्लिनिक दर्ता छ वा छैन भन्ने निश्चित छैन ,दर्ताको सक्कल प्रमाणपत्र,बोर्डहरु,बिल ,सम्बन्धित परिसरबाट इजाजत लिएको पनि देखिएन ।’
निरीक्षण पश्चात् आधार प्रमाण प्रयाप्त भएका कारण क्लिनिक सिलबन्दी गरिको न्यौपानेले बताए । उनका अनुसार क्लिनिकबाट अभिलेख नराखिएका ,म्याद नाघेका औषधिहरु समेत जफत गरिएको छ ।
क्लिनिक संचालकलाई बिभाग सक्कल कागजात सहित उपस्थित हुन पत्र दिइसकेको उनको भनाई छ ।


















