
धनगढी – बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण र सीमा विवादलाई लिएर भएको झडपमा प्रहरीसहित पाँच जना घाइते भएका छन् । मंगलबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले सीमा विवादको विषय उठाउँदै विरोध जनाएपछि बाजुराको हिमाली गाउँपालिकाका स्थानीयसँग झडप भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार झडपमा हिमाली गाउँपालिका–३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर, प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा घाइते भएका छन् । उनीहरूको ढाड, गर्धन, छाती तथा खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



















