काठमाडौं । हरेक वर्ष टेक कम्पनीहरूले नयाँ स्मार्टफोन सार्वजनिक गर्छन्, र प्रयोगकर्ताहरू पनि अपग्रेड गर्नतर्फ आकर्षित हुन्छन् । तर प्रश्न यो होः यदि तपाईंको हालको फोन ठीकसँग चलिरहेको छ भने, के हरेक २–३ वर्षमै नयाँ फोन किन्नु आवश्यक हुन्छ ? धेरैजसो मानिसले २–३ वर्षमै फोन बदल्छन्, जबकि सही तरिकाले हेरचाह गरियो भने एउटा स्मार्टफोन धेरै लामो समयसम्म चल्न सक्छ । आज हामी यस्ता ५ उपायबारे जान्नेछौँ, जसले फोनको आयु बढाउन मद्दत गर्छ । यी टिप्स अपनाउनुहोस् :
१. फोनलाई बारम्बार ओभरहिटिङ हुन नदिनुहोस्

एप्पल, गुगल र सामसङजस्ता कम्पनीहरूले फोनलाई धेरै तातो वा धेरै चिसो तापक्रममा प्रयोग नगर्न सुझाव दिन्छन् । ३५ डिग्रीभन्दा बढीको गर्मीले ब्याट्रीलाई क्षति पु¥याउन सक्छ । फोनलाई घाममा छोड्नु, कारभित्र घामले अत्यधिक तातो बनाउनु वा लगातार ओभरहिट हुन दिनुले ब्याट्रीको आयु घटाउन सक्छ ।
२. हरेक पटक १००% सम्म चार्ज गर्न आवश्यक छैन
फोनलाई दैनिक १००% सम्म चार्ज गर्दा ब्याट्रीको आयु घट्न सक्छ । यदि ब्याट्रीलाई २०% देखि ८०% बीचमा राखियो भने यसको आयु बढ्न सक्छ । आईफोन र सामसङ जस्ता फोनहरूमा अप्टिमाइज्ड चार्जिङ भन्ने सुविधा हुन्छ, जसले ब्याट्रीलाई आवश्यकताभन्दा बढी चार्ज हुनबाट बचाउँछ ।

३. ब्याट्री बचाउन यी ५ सेटिङ्स परिवर्तन गर्नुहोस्
यदि ब्याट्री चाँडै सकिन्छ भने, केही साना परिवर्तनले मद्दत गर्न सक्छन :
– डार्क मोड प्रयोग गर्नुहोस्
– अटो ब्राइटनेस अन राख्नुहोस्
– स्क्रिन टाइमआउट ६० सेकेन्डभन्दा कम राख्नुहोस्
– लो पावर मोड अन गर्नुहोस्
– आवश्यकता नभएको बेला जीपीएस प्रयोग गर्ने एप्स कम गर्नुहोस्
४. फोनमा कम्तीमा २०% स्टोरेज खाली राख्नुहोस्
जब फोनको स्टोरेज लगभग भरिन्छ, त्यसको परफर्मेन्स पनि सुस्त हुन थाल्छ । एक्सपट्र्सका अनुसार तपाईंको फोनमा कम्तीमा १०% र आदर्श रूपमा २०% स्टोरेज खाली हुनुपर्छ । यदि फोनको कुल स्टोरेज १२८ जीबी छ भने, करिब २४ जीबी खाली रहँदा परफर्मेन्स तेज रहन्छ ।
५. सफ्टवेयर अपडेटलाई बेवास्ता नगर्नुहोस्
सुरक्षाका लागि अपडेट्स अत्यन्त महत्वपूर्ण हुन्छन् । यदि फोनलाई नयाँ सिक्योरिटी अपडेट्स मिल्दैनन् भने :
– ह्याकिङको जोखिम बढ्न सक्छ
– एप्स ठीकसँग काम नगर्न सक्छन्
– प्राइभेसी जोखिममा पर्न सक्छ
एप्पलले लगभग हरेक ४–६ हप्तामा सिक्योरिटी अपडेट दिने भएकाले, ती अपडेट्स नियमित रूपमा राख्नु राम्रो हुन्छ ।



















