काठमाठौं – मेटाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा अब मौलिक सामाग्रीलाई प्राथमिकता दिने नयाँ नीति लागू गर्ने भएको छ । यस परिवर्तनसँगै अन्य स्रोतबाट कपी गरिएका वा न्यून सम्पादन गरिएका फोटो तथा क्यारोसेल पोस्टहरूको पहुँच घट्ने बताइएको छ ।
नयाँ नियमअनुसार, उल्लेखनीय सम्पादन बिना अन्य प्रयोगकर्ताबाट लिइएका फोटो, रील वा क्यारोसेल पुन: साझा गर्ने खाताहरूको सामाग्री नयाँ दर्शकसम्म सिफारिस (recommendation) नहुन सक्नेछ । मेटाले जनाएको छ- यस्ता खाताहरू जसले आफूले नबनाएका सामाग्री बारम्बार पोस्ट गर्छन्, तिनको पहुँच क्रमश: सीमित हुन सक्छ ।

यसअघि सन् २०२४ मा इन्स्टाग्रामले रील्स (Reels) पुन: प्रयोग गर्ने खातामाथि कारबाही सुरु गरेको थियो । तर त्यतिबेला फोटो र क्यारोसेल पोस्टमा त्यस्तो कडाइ लागू गरिएको थिएन । अब भने मेटाले फेसबुकमा समेत यस्तै प्रकारका पुन: प्रकाशित (reposted) सामाग्रीलाई नियन्त्रण गर्ने नीति विस्तार गरिरहेको छ ।

नयाँ नीतिले मेम, फ्यान पेज तथा कमेन्टरी (commentary) आधारित सामाग्री बनाउने खाताहरूलाई केही चुनौती सिर्जना गर्न सक्नेछ, किनभने यस्ता खाताहरूले प्राय: अरूले बनाएको सामाग्रीको प्रयोग गर्ने गर्छन् ।
मेटाले यस्ता प्रयोगकर्तालाई आफ्नै मौलिक सामाग्री सिर्जना गर्न सुझाव दिएको छ, जस्तै आफ्नै एडिट, आवाज (voiceover) वा ग्राफिक्स थप्ने । तर केवल वॉटरमार्क वा सामान्य क्रेडिट थप्नु मात्रलाई मौलिक सामाग्री रूपमा मानिने छैन ।
विशेष गरी X (ट्विटर) वा Tumblr बाट लिइएका स्क्रिनसटहरू जस्ता मेम सामाग्रीमा यो नीति अझ जटिल हुन सक्ने बताइएको छ, किनभने त्यस्ता सामाग्रीको वास्तविक स्रोत पहिचान गर्न कठिन हुन्छ ।
मेटाले प्रयोगकर्ताहरूलाई आफ्नो पहुँच घटेको छ कि छैन भनेर इन्स्टाग्रामको “Account Status” सुविधा मार्फत जाँच गर्न सकिने जनाएको छ । यदि कुनै गल्ती भएको महसुस भएमा प्रयोगकर्ताले अपिल (appeal) गर्न सक्नेछन् ।


















