खाेज्नुहाेस

मुक्तकमैयाको अधिकारका लागि सरकार प्रतिबद्ध : मन्त्री चौधरी

Image

कञ्चनपुर – कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । मुक्तकमैया समाज जिल्ला समिति कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित खुला मञ्चमा आयोजना गरेको जागरणसभामा बोल्दै उनले मुक्तकमैया, हलिया, हरवाचरवा तथा कम्लरीको अधिकारको लडाइँमा सरकार सँगसँगै अगाडि बढ्ने स्पष्ट पारेकी हुन् ।

आफू पनि यही समुदायको छोरी भएकाले यस क्षेत्रप्रति अझ जिम्मेवार भएर काम गर्ने उल्लेख गर्दै मन्त्री चौधरीले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राख्ने धारणा राखिन् । कार्यक्रममा जनप्रतिनिधिहरूले मुक्तकमैया र आरक्ष पीडितहरूको न्यायिक पुनःस्थापनका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य कृपाराम रानाले कतिपयसँग लालपुर्जा भए पनि जग्गा नभएको र कतै जग्गा भए पनि लालपुर्जा नभएको समस्या औँल्याए । उनले नदी किनार वा वन क्षेत्र नजिक दिइएको जग्गा प्रयोगयोग्य नभएको र बाढीपहिरोको जोखिममा बस्नुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताए ।

attariya hospital
navjiwan hospital

अर्का सांसद ज्ञानेन्द्रसिंह महतले मुक्तिको घोषणा मात्रै पर्याप्त नहुने भन्दै पुनःस्थापना र आधारभूत सेवाको सुनिश्चितताका लागि सरकारले काम गर्नुपर्नेमा जोड दिए । मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले मुक्त घोषणा भएको दुई दशकभन्दा बढी समय हुँदा पनि अझै तीन हजारभन्दा बढी परिवार पुनःस्थापनाको पर्खाइमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

जागरणसभापछि मन्त्री चौधरीले बेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको समेत अवलोकन गरिन् । उनले औद्योगिक क्षेत्रको निर्माण प्रक्रियामा रहेका कानुनी तथा प्रशासनिक जटिलतालाई हटाएर काम अगाडि बढाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् ।

झन्डै तीन दशकदेखि चर्चामा रहेको र पाँच वर्षअघि शिलान्यास भएको यो औद्योगिक क्षेत्रको निर्माण कार्य वन फँडानी र प्रक्रियागत झमेलाका कारण अगाडि बढ्न सकेको छैन । करिब ९०० बिघा क्षेत्रफलमा फैलिने यस औद्योगिक क्षेत्रले २२ हजार रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । मन्त्री चौधरीले जनताका अपेक्षालाई निराशामा परिणत हुन नदिने गरी अहोरात्र खटेर काम गर्ने बताइन् ।