खाेज्नुहाेस

आज ओपिडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Image

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । लगातार सार्वजनिक बिदाका कारण बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले मन्त्रालयले यो निर्णय गरेको जनाएको छ ।

यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

चिकित्सक संघको आपत्ति, निर्णय फिर्ता लिन माग

नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूमा बहिरंग विभाग (ओपिडी) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अनुरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयको उक्त निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
संघले अहोरात्र सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि श्रमिक नै भएको र अन्तर्राष्ट्रिय मान्यताअनुसार श्रमिक दिवसको बिदाको दिनमा समेत ओपिडी सेवा सञ्चालन गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि ठुलो अन्याय हुने उल्लेख गरेको छ ।

‘अस्पतालमा इमर्जेन्सी लगायतका अत्यावश्यक सेवा बिदाका दिनमा समेत सञ्चालन हुने र ओपिडी सेवा अत्यावश्यक सेवा नभएकाले १–२ दिन बन्द रहँदा फरक नपर्ने देखिन्छ,’ संघका महासचिव डा. सञ्जिब तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अन्य पेशाकर्मीलाई जस्तै बिदा दिने प्रचलन रहेको र अन्य चाडपर्वमा पनि ३ दिन वा बढी बिदा पर्न सक्ने हुँदा मन्त्रालयको उक्त निर्णय अव्यवहारिक र अवैज्ञानिक रहेको छ ।’