काठमाण्डौ– नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले बिहीबार एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो ।
नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ । जहाँ यसअघि २१९ रुपैयाँ रहेको थियो । तेस्रो वर्गमा डिजेल तथा मट्टितेलको मूल्य २२५ रुपैया पुगेको छ । जहाँ यसअघि २३७ रुपैया रहेको थियो ।


त्यस्तै, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रहरू सुर्खेत र दाङमा अब पेट्रोल प्रतिलिटर २१६ रुपैयाँमा पाइनेछ भने डिजेल तथा मट्टितेल २२४ रुपैयामा पाईनेछ । सो वर्गका क्षेत्रहरुमा यसअघि पेट्रोलको मूल्य २१८ र डिजेल÷मट्टितेलको मूल्य २३६ रुपैया थियो ।
पहिलो वर्गका क्षेत्रहरू तराईका जिल्लाहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम गरिएको छ । सो वर्गका क्षेत्रहरुमा यसअघि २१६ रुपैया ५० पैसा पेट्रोलको मूल्य कायम रहेको थियो । यस्तै डिजेल तथा मट्टितेलको मूल्य सो वर्गका क्षेत्रहरुमा २२२ रुपैया ५० पैसा कायम भएको छ । यसअघि सो मूल्य २३४ रुपैया ५० पैसा रहेको थियो ।
निगमले हवाई इन्धन र खाना पकाउने एल.पी. ग्यासको मूल्य भने बढाएको छ । हवाई इन्धन (आन्तरिक) तर्फ प्रति लिटर ७ रुपैयाँले वृद्धि हुँदा अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकि डलर ४६ बढाइएको छ भने एल.पी. ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले बढेको छ । समायोजन पछि अब पुरा सिलिन्डर खाना पकाउने ग्यासको मूल्य २१६० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको फेरबदल र स्वचालित मूल्य प्रणाली अनुसार यो समायोजन गरिएको निगमले जनाएको छ ।

















