हाम्रो समाजमा मुख स्वास्थ्यका बारेमा धेरै भ्रमहरू व्याप्त छन् । तीमध्ये अधिकांश भ्रमहरू मानिसको अटल विश्वासका रूपमा बसेका छन् । वैज्ञानिक तथ्यका आधारमा यस्ता बुझाइहरू पूर्णतः गलत भए तापनि सर्वसाधारणलाई बुझाउन निकै चुनौतीपूर्ण छ । आजको विज्ञानको युगमा हामीले सही तथ्यहरूलाई आत्मसात गर्नैपर्छ । यस लेखमार्फत मुख स्वास्थ्यसँग जोडिएका केही प्रमुख भ्रम र तिनका यथार्थबारे चर्चा गरिएको छ :
भ्रम १ : दाँत सफा गर्दा दाँत कमजोर हुन्छ र हल्लिन्छ ।

तथ्य : यो बुझाइ ठ्याक्कै उल्टो हो । यदि दाँतमा फोहोर जमाएर राखियो भने गिजा सुन्निने, गिजा तल सर्ने, दाँत हल्लिने र कालान्तरमा दाँत नै झर्ने समस्या आउन सक्छ । दाँत र गिजामा जम्ने फोहोर ‘डेन्टल प्लाक’ (दन्त लेउ) र कडा खालको ‘डेन्टल क्याल्कुलस’ (टार्टर) मा अर्बौँका संख्यामा कीटाणुहरू हुन्छन् । तिनले उत्पादन गर्ने रसायनले गिजा, दाँत र हड्डीलाई हानि पु-याउँछ । त्यसैले, चिकित्सकको सल्लाह अनुसार हरेक ६ महिना वा वर्ष दिनमा मेसिनले दाँत सफा गराउनुपर्छ । एकपटक फोहोर जमेर कडा भएपछि ब्रसले मात्र हटाउन असम्भव हुन्छ । बरु सुरुदेखि नै राम्रोसँग ब्रस गरेर फोहोर जम्नै नदिनु बुद्धिमानी हुन्छ ।
भ्रम २ : बच्चाको दाँत झरेर अर्को आउने नै हो, त्यसैले दाँत भर्नु पर्दैन ।
तथ्य : यो पनि सत्य होइन । बच्चाका दुई प्रकारका दाँत हुन्छन : सुरुको २–३ वर्षभित्र आउने ‘दूधे दाँत’ र पछि आउने ‘स्थायी दाँत’ । सुरुमा आउने २० वटा दाँतहरू साटिने दाँत हुन् । तर, ६ वर्षपछि पछाडि उम्रिने बङ्गारा भने स्थायी हुन्छ, जुन कहिल्यै साटिँदैन । नसाटिने दाँतलाई त स्वस्थ राख्नैपर्छ, साथै साटिने दाँत पनि आफ्नो समयतालिका अनुसार मात्र झर्नु राम्रो हुन्छ । सामान्यतया ६ देखि १२ वर्षको उमेरमा दाँतहरू साटिन्छन् । समय नपुग्दै दूधे दाँत निकालियो भने पछि आउने स्थायी दाँतले सही ठाउँ पाउँदैन र दाँतहरू बाङ्गो–टिङ्गो आउने सम्भावना हुन्छ । तसर्थ, सुरुमा खानपिन र सरसफाइमा ध्यान दिएर किरा लाग्नै दिनु हुँदैन । यदि किरा लागिहालेमा समय नपुग्दै दाँत निकाल्नुको सट्टा ‘फिलिङ’ गराउनु उपयुक्त हुन्छ ।

भ्रम ३ : दाँत दुखेको छैन भने किरा लागेको छैन ।
तथ्य : धेरै बिरामीलाई ‘दाँतमा किरा लागेको छ, भर्नुपर्छ’ भन्दा ‘मलाई त दुखेकै छैन’ भन्ने जवाफ पाइन्छ । तर, दुखाइ सुरु हुनुभन्दा निकै पहिले दाँतमा किरा लागिसकेको हुन्छ । कहिलेकाहीँ किरा लाग्न सुरु भएदेखि दुख्ने अवस्थासम्म पुग्न वर्षौँ लाग्न सक्छ । जब किराले दाँतको भित्री भाग (नसा) सम्म असर गर्छ, तब मात्र दुखाइ सुरु हुन्छ । सुरुवाती अवस्थामै उपचार गरेमा प्राकृतिक दाँत जोगाउन सकिन्छ र आरसीटी, दाँत निकाल्ने वा इम्प्लान्ट राख्ने जस्ता जटिल र महँगा उपचारको झन्झट पर्दैन । यसका लागि प्रत्येक ६–६ महिनामा परीक्षण गराउने र खानपानमा ध्यान दिनुपर्छ ।
भ्रम ४ : कडा ब्रसले बेस्सरी घोटेर माझ्यो भने दाँत सफा हुन्छ ।
तथ्य : यो अर्को घातक बुझाइ हो । यदि कडा ब्रसले बल लगाएर दाँत घोटियो भने दाँतको बाहिरी तह (इनामेल) खिइन्छ । विशेष गरी दाँत र गिजाको मिलन हुने ठाउँमा खाल्डो परी दाँत सिरिङ्ग–सिरिङ्ग हुने समस्या देखिन्छ । पछि त्यही ठाउँबाट दाँत भाँचिने वा नसा छोएर दुख्ने हुन सक्छ । तसर्थ, सधैँ ‘नर्मल’ वा ‘सफ्ट’ ब्रसले हलुकासँग दाँत माझ्नुपर्छ ।
भ्रम ५ : दाँत किराले खायो भने निकाल्नु नै उत्तम विकल्प हो ।
तथ्य : किराले खानेबित्तिकै दाँत निकाल्नुपर्छ भन्ने हुँदैन । सामान्य अवस्थामा ‘फिलिङ’ गरेर र अलि बढी असर गरेको भए ‘आरसीटी’ र ‘पोस्ट–कोर’ गरेर पनि दाँत जोगाउन सकिन्छ । यसरी उपचार गरेर बचाइएको प्राकृतिक दाँत पछि राखिने कृत्रिम दाँतभन्दा निकै सहज, बलियो र भरपर्दो हुन्छ ।
तसर्थ, मुख स्वास्थ्य सम्बन्धी यस्ता भ्रमहरू चिरेर वैज्ञानिक तथ्यलाई आत्मसात गर्नुपर्छ । समाजमा फैलिएका अफवाहलाई निरुत्साहित गर्दै चिकित्सकको सल्लाह पालना गर्नु नै बुद्धिमानी हुन्छ ।














