खाेज्नुहाेस

अत्तरियामा सशस्त्र प्रहरीकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

Image

अत्तरिया – सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियामा नेपाल सरकारले प्रतिबन्ध लगाएको प्लास्टिकको फूल प्रयोग गरेको विषय अख्तियारमा पुगेको छ । सशस्त्रले आफ्नो प्राङ्गणभित्रै आयोजना गरेको कार्यक्रममा प्लास्टिकको फूल प्रयोग प्रयोग गरे पनि कुनै कारबाही नभएको भन्दै अख्तियारमा उजुरी पुगेको हो ।

सशस्त्र प्रहरीले चैत २२ गते २५ औँ स्थापना दिवसका अवसरमा अत्तरियामा भव्य कार्यक्रमको आयोजना गरेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल प्रमुख अतिथि रहेको उक्त कार्यक्रमका लागि मञ्च प्रवेशद्वारा झकिझकाउ पारिएको थियो । तर, मञ्च भने सशस्त्रले आफैले सीमामा प्रतिबन्धित भनेर जफत गर्ने गरेको प्लास्टिकका फूल मालाले सजाइएको थियो ।

attariya hospital

सरकारको कानुन पालना गर्ने निकायले नै आयोजना गरेको कार्यक्रममा सरकारले प्रतिबन्ध लगाएको प्लास्टिकका फूल मालाले मञ्च सजाइएपछि टेन्ट व्यवसायी, फूल खेती गर्ने किसानहरूले असन्तुष्टि पोखेका छन् ।

उक्त विषय जिल्ला प्रशासन सम्म पुगे पनि कारबाही नभएपछि जवाफ ‘दे, हिसाव दे’ नाम गरेको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय महेन्द्रनगरमा उजुरी दिएको छ । उक्त समूहले आवश्यक छानबिन तथा कारबाहीको माग गर्दै उजुरी दिएको हो ।

navjiwan hospital

उजुरीमा प्लास्टिकजन्य फूल प्रयोग गर्दा व्यवसायीहरूलाई कारबाही गरिएअनुसार सशस्त्र प्रहरीलाई पनि कारबाही गरिनुपर्ने माग गरिएको छ । उजुरीमा सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ वाहिनी सुदूरपश्चिम प्रदेश, अत्तरियाका निमित्त वाहिनी पति दिगविजय सुवेदी तथा केही व्यापारीबिचको मिलेमतोमा नेपाल सरकारले प्रतिबन्ध लगाएका सामग्रीहरूको प्रयोग तथा केरा, कुखुरा र फूलहरूको चोरी पैठारीमा संलग्नता रहेको विषयमा पनि आवश्यक कारबाही हुनुपर्ने माग गरिएको छ ।

सीमा सुरक्षामा अहोरात्र खटिने सशस्त्र प्रहरीप्रति सम्मान भए पनि केही भ्रष्ट कर्मचारीहरूको कारण सम्पूर्ण संगठनको छवि बदनाम हुन नदिन यथाशीघ्र दोषीलाई कानुनी दायरामा ल्याउन पनि माग गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टले सशस्त्रले प्लास्टिकका फूल प्रयोग गरेको विषयमा उजुरी आएको पुष्टि गर्दै छानबिनको प्रक्रिया अघि बढेको बताए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका सशस्त्र प्रहरी उपरीक्षक तथा सूचना अधिकारी लोकेन्द्र भट्टले भने टेन्ट व्यवसायीले मञ्च सजाउने क्रममा प्लास्टिकका फूल प्रयोग गरेको बताए । ‘हामीले आफूले खरिद गरेर ल्याएको होइन । त्यो टेन्ट हाउसलाई जिम्मा दिएको हो । टेन्ट हाउसले ल्याएर राख्दा त्यसो हुन पुगेको हो’ उनले भने ‘मञ्चमा प्लास्टिक प्रयोग भएको बारेमा अहिले जानकारी थिएन भन्न पनि मिलेन । जे भए पनि हामीले खरिद गरेर ल्याएको होइन ।’ झलारीको टेन्ट हाउस भएको बताउँदै उनले अहिले सीमामा ल्याउन ब्यान्ड भए पनि टेन्ट हाउस सँग पुरानो सामान हुन सक्ने बताए । उनले भने ‘जानी जानी प्लास्टिकको प्रयोग गर्ने कुरा भएन । सजावटको जिम्मा टेन्ट हाउसलाई दिँदा त्यस्तो भयो ।’

सुदूरपश्चिम इभेन्ट एसोसिएसनका सल्लाहकार विनोद मल्लले कानुन पालना गर्ने निकाय नै कानुनको उल्लङ्घन गर्दा फूल खेती गर्ने किसान निराश भएको बताए । ‘नेपाली किसानहरूलाई फूल खेतीमा आत्मनिर्भर बनाउनको लागि सरकारले ल्याएको कानुन कार्यान्वयन गर्न सबैभन्दा अगाडि सीमामा सशस्त्र प्रहरी खटिएको हुन्छ’ उनले भने ‘त्यसै निकायले सशस्त्र प्रहरी भन्दा पनि माथिल्लो निकायका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा यस्ता काम भएका छन् ।’ उनले यस्ता कार्यले किसानहरूलाई निरुत्साहित बनाएको बताए ।

उनले प्लास्टिक प्रतिबन्धको निर्णय हुनु अघि नेपालका व्यापारीहरूले कर तिरले ल्याएका प्लास्टिक जन्य सजावटका सामान पनि जफत गरिएको, सजावटमा प्रयोग भए पनि निकालेर लगिएको बताउँदै अहिले आएर सशस्त्र प्रहरीबाटले नै यस्तो काम हुनु दुःखद भएको बताए । उनले यस्तो काम गर्ने निकायले कि माफी माग्नुपर्ने नभए कारबाही हुनुपर्ने बताए ।