धनगढी – अस्पताल विवादबारे लम्कीचुहा नगरपालिकाले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ । चैत २४ गते नगरपालिकाले सर्वोच्च अदालतमा लम्कीचुहा अस्पतालको विवादबारे अन्तरिम आदेश माग्दै रिट दायर गरेको थियो ।

नगरपालिकाका तर्फबाट अधिवक्ता देवीकुमारी जोशीले दायर गरेको रिटमा प्रदेश सरकारले गठन गरेको अस्पताल व्यवस्थापन समिति तथा सोसँग सम्बन्धित निर्णय, कामकारबाही एवं पत्राचार कार्यान्वयन नगर्न र नगराउन तथा अस्पताल क्षेत्रमा अनावश्यक हुलहुज्जत एवं प्रचारबाजी नगर्न र नगराउन सर्वोच्च अदालतसँग अन्तरिम आदेश माग गरिएको थियो ।

नगरपालिकाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेश सरकार, सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशको सामाजिक विकास मन्त्रालय, मन्त्री र सचिवलाई विपक्षी बनाएको थियो । यसअघि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल र अधिवक्ता भेषराज पन्तले बहस गरेका थिए ।
नगरपालिका र सरकारका तर्फबाट बहस भएपछि सोमबार न्यायाधीश सुनिल पोख्रेल र नित्यानन्द पाण्डेको इजलासले उक्त निवेदनमा अन्तरिम आदेश दिन नपर्ने आदेश गरेको हो ।
















