खाेज्नुहाेस

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

Image

टीकापुर – कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न स्थानीयले आग्रह गरेका छन् । सोमबार सीमा क्षेत्रको अनुमगनमा आएका तीनै तहका जनप्रतिनिधि सम्मिलित टोलीसँग स्थानीयले क्वारेन्टाइन स्थापना, सीमाबाट भित्रिने लागुऔषध नियन्त्रण लगायत समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।

अनुगमन टोलीमा सहभागी प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली, प्रदेशसभा सदस्यद्वय लक्ष्मणकिशोर चौधरी, ललिता सुनार र टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीसँग स्थानीयले आफ्ना समस्याबारे गम्भीर भइदिन आग्रह गरेका थिए ।

attariya hospital
navjiwan hospital

टीकापुर— ८ बटनपुरका उमेश साउदले खाद्य क्वारेन्टाइन नभएकाले सीमा नजिक भएका नागरिकले भारतबाट भन्सार तिरेर आलु, प्याजलगायत खाद्यान्न ल्याउन नपाएको गुनासो गरे । ‘क्वारेन्टाइन भए यहीबाट परीक्षण गरेर आवश्यक खाद्यान्न ल्याउन सकिन्थ्यो, हाल स्थानीय नागरिक र व्यापारीलाई यो बाटोबाट सामान ल्याउन कठिन छ’, उनले भने ‘सत्ती भन्सारमा आवश्यक पूर्वाधार विकास गरेर समस्या समाधानका लागि आग्रह गरेका छौँ ।’

स्थानीय व्यापारी टङ्कप्रसाद ढुङ्गानाले तीनै तहका जनप्रतिनिधि सहभागी भएको उक्त टोलीलाई सीमा समस्या र सत्ती भन्सार कार्यालयको विकासका लागि आवश्यक सहजीकरणका लागि ध्यानाकर्षण गराइएको बताए ।
सत्ती भन्सार कार्यालयका प्रमुख चक्रबहादुर सोनीले यहाँ पशु, खाद्य तथा प्लान्ट क्वारेन्टाइन भएमा राजश्व सङ्लनमा समेत वृद्धि हुने बताए । त्यसक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगार्जीले भन्सारलाई व्यवस्थित बनाउन आवश्यक कार्यालय र पूर्वाधार निर्माणमा सघाउन अनुरोध गरे ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले मूल भन्सार भए पनि सोअनुसार विकास हुन नसकेकाले सङ्घीय सरकारको समन्वयमा तीनै तहका सरकारले आवश्यक काम गर्नुपर्ने बताए । प्रतिनिधिसभा सदस्य ज्ञवालीले स्थानीयका माग लिएर संसद्मा आवाज उठाउने, क्वारेन्टाइन स्थापनाका लागि बजेट सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाए ।