धनगढी – कैलालीको बुढीतोलामा सञ्चालन हुन गइरहेको पर्यटन महोत्सवमा सहभागिताका लागि भारतको पलियामा निमन्त्रणा अभियान सञ्चालन गरिएको छ । वैशाख १७ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा भारतीय पर्यटकको उल्लेखनीय सहभागिता गराउने उद्देश्यले निमन्त्रणा गर्न लागिएको हो ।
आइतबार बुढीतोला क्षेत्र पर्यटन प्रवद्र्धन तथा बजार व्यवस्थापन समितिले भारतको पलियामा पत्रकार सम्मेलन गर्दै महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । समितिका संयोजक हरिदत्त भट्टराईका अनुसार नेपाल–भारत सीमा क्षेत्रसँगै पलिया, लखनउ, लखिमपुर लगायत सहरका पर्यटकलाई लक्षित गर्दै आकर्षक आवाससहित विशेष प्याकेजहरू तयार पारिएको बताए ।


पर्यटन व्यवसायी अशोक मल्लले “गर्मीसे बेहाल, चलो बुढीतोला नेपाल” भन्ने सन्देशमार्फत भारतीय पर्यटकलाई शीतल र शान्त वातावरणको अनुभव लिन निम्तो दिइएको बताए । उनले गर्मीयाममा तराईको अत्यधिक गर्मीबाट राहत पाउन बुढीतोला उत्कृष्ट गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे । अभियन्ता भरतविक्रम शाहले तराई क्षेत्रमा बढ्दो गर्मीका बीच बुढीतोलाको चिसो मौसमले पर्यटक आकर्षित गर्ने बताउँदै भारतीय पर्यटकलाई प्रत्यक्ष निम्तो दिन पलिया पुगेको जानकारी दिए ।
त्रिनगर भन्सारबाट करिब ३८ किलोमिटर दूरीमा अवस्थित बुढीतोला प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो । महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, स्थानीय परिकार, कला, भाषा र संगीत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यस महोत्सवले पर्यटन प्रवद्र्धनसँगै नेपाल–भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ । बुढीतोला अब केवल पर्यटकीय गन्तव्य मात्र नभई दुई देशबीचको मित्रता, संस्कृति र सहकार्यको महत्वपूर्ण सेतु बन्ने लक्ष्य लिएको आयोजक समितिका संयोजक भट्टराईले बताएका छन् ।


















