गर्मीको चर्को दिनमा शरीरले चिस्यान खोज्छ, मनले सान्त्वना। त्यही बेला खरबुजाको स्वाद जिब्रोमा पग्लिन्छ, मिठासभन्दा गहिरो शीतलता बोकेर। स्वाद क्षणिक हुन्छ तर त्यसले शरीरभित्र शान्ति रोप्छ।
पानीले भरिएको कोमल देह, मधुर गन्ध र सहज मिठास। खरबुजा ताता दिनहरूको थकानसँग प्रकृतिले गरेको मौन संवाद हो। दिउँसोको कठोर घामपछि यसको रसले शरीर र मनबिचको थकित दुरी घटाउँछ।


प्रचुर जलांश र पोषक तत्त्वले भरिएको यो रसिलो फलले तापसँग जुध्ने शक्ति दिन्छ। एन्टिअक्सिडेन्टको स्पर्शले छाला र स्वास्थ्यलाई भित्रैबाट ताजा बनाउँछ।
सन्तुलित सेवनमा यसले मधुमेहसम्बन्धी जोखिम घटाउन र मुटुको स्वास्थ्य जोगाउन सहयोग गर्छ। कम क्यालोरी र फाइबरले तौल र पाचन सन्तुलनमा साथ दिन्छ। बिउसमेत ऊर्जाले भरिएको सानो भण्डार हो।
तराईका फराकिला फाँटहरूमा यतिबेला हरियो-पहेँलो छटा फैलिएको छ। माटोसँगै फैलिँदै हुर्किएका यी फलहरू घाम र समयसँग आफ्नो मिठास पकाउँदैछन्। राजमार्ग किनारका ठेला र पसलहरूमा तिनै खरबुजा शीतल आमन्त्रणझैं सजिन्छन् । घामले थाकेका यात्रुहरू त्यहीं रोकिन्छन् -एक टुक्रा मिठासमा क्षणभरको विश्राम खोज्दै।
खरबुजा – माटो र घामको सहकार्य, गर्मीको शान्त स्वाद, थाकेको शरीरको निःशब्द उपचार।

















