बाजुरा – बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत ढम्कनेदेखि कोल्टीसम्मको कालोपत्रको काम अलपत्र अवस्थामा छ । निर्माण कम्पनीले समयमै काम नगर्दा कालोपत्रको काम अलपत्र परेको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताए ।
काम गर्ने जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवाले समयमै काम नगर्ने र अर्कोतिर बर्सेनि बजेट फिर्ता पठाउने काम भइरहेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा यो सडकमा परेको १५ करोड बजेट समयमै काम हुन नसक्दा १३ करोड ५० लाख बढी रकम फिर्ता भएको थियो । चालु आर्थिक वर्षमा २० करोड बजेट भए पनि अहिलेसम्म ठेकेदारले काम सुरु नगरेको कार्यालय प्रमुख थापाले बताए ।

यो आर्थिक वर्षमा पनि ठेकेदारले काम नगर्दा फेरि करोडौँ रकम फिर्ता हुने भएको छ । आर्थिक वर्ष २०७६/७७ मा (२०७७ असारमा) २६ किलोमिटर सडक कालोपत्र गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले ढम्कनेदेखि चुथीसम्म (६ किलोमिटर) र चुथीदेखि कोल्टीसम्म (२६ किलोमिटर) दुवै खण्डको ठेक्का लिएको थियो । चुथीदेखि ढम्कनेसम्मको सडकको भने २०७७ सालभन्दा पहिला नै सम्झौता भएको थियो ।

चुथीदेखि कोल्टीसम्म २६ किलोमिटर सडक निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । सम्झौताका बेला ३ वर्षमा काम सम्पन्न गर्ने सर्त थियो । तीन वर्षमा काम नसकेपछि कार्यालयले पटक–पटक म्याद थप गरेको थियो ।
म्याद थप गरे पनि यो आर्थिक वर्षको चैत लागिसक्दा पनि ठेकेदारले काम सुरु गरेको छैन । काम नहुने भएपछि यो वर्ष पनि रकम फिर्ता हुने सम्भावना रहेको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
कार्यालयले २६ किलोमिटर कालोपत्रका लागि ९८ करोडको टेन्डर गरेको थियो । पीएस बानियाँ निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा बर्सातमा मार्तडी–कोल्टी सडक बन्द हुने गरेको स्थानीय शङ्करबहादुर चदाराले बताए ।
केही दिनपहिला पूर्वाधार विकास कार्यालय अछामले ठेक्का तोड्नेबारे १५ दिने सूचना प्रकाशित गरेको थियो । ठेक्का नतोड्नुपर्ने कारण भए कार्यालयमा सम्पर्क गर्नसमेत भनेको थियो, तर सूचना प्रकाशित भएको म्याद सकिँदासम्म पनि ठेकेदार कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।
















