बाजुरा – बाजुरामा फोन नेटवर्क संकट चुलिदैँ गएको छ । पछिल्लो समय बाजुराका नौ वटै स्थानीय तहमा नेपाल टेलिकमको फोन नेटवर्कमा गम्भीर समस्या देखिएको हो । उक्त समस्याका कारण यहाँका नागरिकले सञ्चार सेवाबाट समस्या भोग्नु परेको छ ।
जिल्लाका अधिकांश स्थानमा फोन सेवा प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा यहाँको दैनिक जनजीवन प्रभावित बन्दै गएको हो । जिल्लामा पछिल्लो दुइतीन महिना यतादेखि नेपाल टेलिकमको फोन नेटवर्कमा गम्भीर खरावी देखिंदै आएको छ ।

फोन लाग्ने, आवाज नसुनिने, कुराकानीकै बीचमा फोन काटिने र आवाज समेत काटिएर आउने जस्ता समस्या देखिन थालेका हुन् । फोन समस्या मात्र नभइ फोरजी सेवा समेत प्रभावित बन्ने गरेको हो । दुर्गम गाउँबस्तीमा भने यो समस्या झनै विकराल बन्दै गएको छ ।

बडीमालिका नगरपालिका वडा नम्बर–७ का स्थानीय प्रेमलाल पाध्यायका अनुसार नेकवर्कले काम नगर्दा फोन गर्न समेत समस्या भइरहेको जानकारी दिए । उनले भने, ‘नेटवर्क राम्रोसँग आउदैन्, फोन लाग्छ तर आवाज सुनिँदैन, कुराकानी गर्दागर्दै विचमै काटिन्छ । आपतकालिन अवस्थामा सम्पर्क नहुँदा झनै गाह्रो हुने गर्छ ।’
त्यस्तै बाजुराकोे हिमाली गाउँपालिकाका स्थानीय जयकृष्ण पाण्डेले नेटवर्कले काम नगर्दा सास्ती भोग्नु परेको गुनासो गरे । सिंगो पालिकाभर मोबाइल नेटवर्क संगसंगै फोरजी सेवा समेत प्रभावित हुँदा एकआपसमा सम्पर्क गर्न समस्या भइरहेको उनले जानकारी दिए ।
कार्यालयमा जिल्लाभर फोन नेटवर्कमा समस्या भइरहेको जनगुनासो दिनहुँ आउने गरेको नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले बताए । उनले जिल्लामा फोन नेटवर्क र फोरजी सेवामा समस्या भएको स्वीकार गरेका छन् । साथै कतिपय टावर विद्युतको पहुँचमा नहुँदा नेटवर्कमा समस्या भइरहेको उनले जानकारी दिए ।
उनले भने, ‘जिल्लामा २७ वटा टेलिकम टावर सञ्चालनमा छन् । ती मध्ये कतिपय टावरमा विद्युतको सुविधा छैन् । आठवटा टावरमा मात्रै स्थानीय लघु जलविद्युत छ । अरु बढिजसो सोलारबाट सञ्चालनमा छन् । धेरै टावरमा सोलार मात्रै हुँदा यस्तो समस्या उत्पन्न भएको हो ।’
सदरमुकाम मार्तडीमा रहेको १७ मिटरको टावर सानो हुँदा केही समस्या देखिएकाले नयाँ निर्माण भएको ५० मिटरको टावर केही दिन भित्रै जडान सम्पन्न भएपछि यस्तो समस्यामा कमी आउने कार्यालय प्रमुख सिंहले बताए । साथै उनले जिल्लाका विभिन्न टेलिकम टावरमा नयाँ यन्त्र, उपकरण थप गरेर लगत्तै यस्तो समस्या समाधान गरिने जानकारी दिए ।


















