दार्चुला – दार्चुलामा ईलाका प्रशासन कार्यालय स्थापनाको तयारी तीव्र पारिएको छ । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको थियो । गृह मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि कार्यालय स्थापनाको तयारी अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनिल पौडेलले जानकारी दिए ।
उनका अनुसार वैशाखको पहिलो हप्ताभित्र कार्यालय सञ्चालनमा ल्याउने लक्ष्यका साथ आवश्यक सबै संरचनाको तयारी भइरहेको छ । ‘कार्यालय स्थापनाका लागि आवश्यक संरचना तयार गर्ने प्रक्रिया जारी छ र वैशाखको पहिलो हप्ताभित्र सेवा उपलब्ध गराउने तयारी भइरहेको छ’ उनले भने ।


तयारीको क्रममा गोकुलेश्वरमा बसेको अन्तरपालिका बैठकले ईलाका प्रशासन कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री, आन्तरिक व्यवस्थापन र अन्य आवश्यक सहयोग स्थानीय तहहरूले दिने निर्णय गरेको छ । कार्यालय सञ्चालनका लागि शैल्यशिखर नगरपालिका अन्तर्गतको कृषि तथा पशु भवन प्रयोगमा ल्याउने निर्णय पनि गरिएको छ ।
अहिले सम्म नागरिकले सदरमुकाम खलङ्गा पुगेर मात्रै नागरिकता र अन्य प्रमाणपत्र लिनुपर्ने बाध्यता थियो । नयाँ कार्यालयबाट ७२ किलोमिटर दुरीमा रहेको गोकुलेश्वरमा प्रशासनिक सेवा सहज उपलब्ध हुने अपेक्षा गरिएको छ ।
प्रजिअ पौडेलका अनुसार, ईलाका प्रशासन कार्यालयले शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका, साथै नौगाड गाउँपालिका वडा नम्बर ६ र लेकम गाउँपालिका वडा नम्बर १, २, ५ र ६ का नागरिकलाई सेवा प्रदान गर्नेछ । कार्यालयमार्फत नागरिकता, राष्ट्रिय परिचयपत्र, विपद् व्यवस्थापन, सार्वजनिक सुरक्षा लगायतका सेवा स्थानीय तहसम्म सहजै पुग्ने अपेक्षा गरिएको छ ।















