खाेज्नुहाेस

टीकापुरमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

Image

टीकापुर – कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सेवा दिन सुरु गरेको छ । पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई÷दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य परीक्षण घरमै गएर गर्न थालेको हो । सेवाअन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य परीक्षण, रोग पहिचान, उपचार तथा परामर्श, आवश्यक औषधिहरू निःशुल्क वितरणजस्ता कार्य गर्न थालेका टीकापुर नगरपालिका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताए ।

navjiwan hospital

उनका अनुसार ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पालिकाका स्वास्थ्यकर्मीले हरेक महिना चार दिन समुदायमा घरघरमै सेवा दिने कार्यतालिका तयार गरिएको छ । ‘घरमा पुगेर दीर्घ रोग, उच्च रक्तचाप तथा मधुमेहलगायतको जाँच तथा अनुगमन गर्न थालिएको छ’, जनस्वास्थ्य निरीक्षक सार्कीले भने ‘पोषण सरसफाइ तथा जीवनशैलीसम्बन्धी परामर्शसमेत दिन थालिएको छ ।’

attariya hospital

घरमै सेवा पाएपछि ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरू खुसी भएका छन् । वडा नं २ विजयनगरका ज्येष्ठ नागरिक मासुलाल चौधरीले स्वास्थ्यकर्मी घरमै आएर सेवा दिँदा खुसी लागेको बताए । ‘उच्च रक्तचापको समस्या भएको म अस्पताल नियमित औषधि लिन जान नसक्दा बीचमा औषधि छोडेको थिए, स्वास्थ्यकर्मी आएर घरमै उपलब्ध गराएपछि अब नियमित खान्छु’, उनले भने, ‘हामी शारीरिक रूपमा कमजोर, त्यसैमाथि दीर्घरोगले थलिएका छौँ । हामीलाई अस्पतालमा लाइनमा बस्नुपर्दा गाह्रो हुन्छ । घरमै सेवा पाउँदा सहज हुन्छ ।’

अर्का ज्येष्ठ नागरिक पुनसराम चौधरी क्षयरोगका बिरामी छन् । उनले नियमित क्षयरोगको औषधि खाइरहेका छन । घरमै गएर स्वास्थ्य परीक्षण गराएको र खानपान, रहनसहनबारे परामर्श सेवा पाएको पुनसरामले बताए । स्वास्थ्यकर्मी लक्ष्मी नारायण पोख्रेलले घरदैलोमै स्वास्थ्य सेवा दिँदा बिरामीको समय र खर्च बचत भएको, घरमै सेवा पाउँदा ज्येष्ठ नागरिक र अपांगता भएकाहरूले सुरक्षित र सम्मानित महसुस गरेको बताए । घरदैलो सेवालाई कार्यविधि बनाएर नियमित सञ्चालन गर्ने पालिकाको योजना रहेको छ ।