खाेज्नुहाेस

नवजीवन सहकारी सुखड शाखाको नवनिर्मित भवन उद्घाटन

Image

धनगढी – धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाले कैलालीको सुखडस्थित आफ्नो शाखाको नवनिर्मित भवन उद्घाटन गरेको छ । सहकारीका सञ्चालक समिति अध्यक्ष देवबहादुर बमले एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बमले करिब ९५ लाख रुपैयाँको लागतमा तीन तले भवन निर्माण सम्पन्न गरिएको जानकारी दिए । उनले संस्थाले धनगढीस्थित मुख्य कार्यालयसँगै अत्तरिया, टिकापुर, बाँसगढी र सुख्खडमा आफ्नै भवन निर्माण गरेर संस्थागत सुदृढीकरणतर्फ महत्वपूर्ण कदम चालेको बताए । यस उपलब्धिमा विगतदेखि वर्तमानसम्मका सम्पूर्ण सञ्चालक समिति तथा सदस्यहरूको योगदान रहेको उल्लेख गर्दै उनले सबैप्रति कृतज्ञता व्यक्त गरे ।

navjiwan hospital

अध्यक्ष बमका अनुसार सहकारीले आर्थिक मितव्ययिता अपनाउँदै सम्पत्ति विस्तारको नीति निरन्तर अघि बढाएको छ । जोशीपुरमा जग्गा खरिद भइसकेकाले त्यहाँ पनि चाँडै नयाँ भवन निर्माण गरिने योजना रहेको उनले बताए । देशभर सहकारी क्षेत्रमा विभिन्न चुनौती देखिँदै आएको अवस्थामा नवजीवन सहकारी भने संस्थापकहरूको दूरदर्शिता र सञ्चालकहरूको इमान्दारिताका कारण स्थिर र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको उनको भनाइ थियो । कार्यक्रममा संस्थाका महाप्रबन्धक डम्मरसिंह गुरुले सहकारीको वित्तीय अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार २०८२ फागुन मसान्तसम्म सहकारीको शेयर पुँजी ३४ करोड २९ हजार २ सय पुगेको छ भने सेयर सदस्य संख्या ३९ हजार ८ सय ९६ पुगेको छ । जगेडा कोषमा ५९ करोड ५४ लाख २९ हजार ७ सय ३ रुपैयाँ ३४ पैसा संकलन भएको छ ।

attariya hospital

त्यस्तै, कुल बचत रकम ५ अर्ब ४५ करोड १८ लाख ९६ हजार ४ सय ६९ रुपैयाँ ८३ पैसा पुगेको छ भने नगद मौज्दात १ अर्ब ९३ करोड ७८ लाख ८२ हजार ४ सय ५८ रुपैयाँ ३२ पैसा रहेको उनले बताए । संस्थाको स्थिर सम्पत्ति २० करोड २७ लाख ७९ हजार ४ सय ९० रुपैयाँ ७ पैसा पुगेको छ । साथै, सहकारीमा कर्मचारी संख्या पनि ११७ जनाबाट बढेर १२१ पुगेको जानकारी दिइयो ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझा, सहकारीका सल्लाहकारहरू, वर्तमान कार्यसमिति तथा सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले नवजीवन सहकारीले प्रत्येक वर्ष उल्लेखनीय प्रगति गर्दै आएको उल्लेख गर्दै संस्थाको पारदर्शिता, दिगोपन र सदस्यमुखी सेवाको प्रशंसा गरेका थिए । सुख्खडमा नयाँ भवन सञ्चालनमा आएसँगै स्थानीय स्तरमा सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास गरिएको छ । साथै, यसले सहकारीको पहुँच विस्तार गर्नुका साथै आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।