बैतडी – बैतडीको सुर्नया गाउँपालिकाले संघीय सरकारबाट प्राप्त विशेष अनुदान अन्तर्गत सञ्चालन गर्न लागेको कार्यक्रम कार्यान्वयन प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
सुर्नया गाउँपालिका–४, का राजन भट्टले आयोगको टंगालस्थित कार्यालयमा दर्ता गराएको निवेदनमा ‘एकीकृत स्वास्थ्य र पोषणमा आधारित महिला सृजनशील कार्यक्रम’ अन्तर्गतको कुल १ करोड ६३ लाख रुपैयाँ बजेट कार्यान्वयनमा कानुनी प्रावधान उल्लङ्घन गरिएको उल्लेख गरिएको छ ।


उजुरीमा विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१ को दफा ९ र १२ विपरीत निर्णय गरिएको दाबी गरिएको छ । साथै, अर्थ मन्त्रालयको २०८२ असोज ७ गतेको निर्णय कार्यान्वयनसम्बन्धी निर्देशनको समेत उल्लङ्घन हुने गरी कार्यक्रम अघि बढाउन खोजिएको जनाइएको छ ।
गाउँ कार्यपालिकाले २०८२ चैत २ गते गरेको निर्णयअनुसार उक्त बजेटलाई मूल उद्देश्यविपरीत विभिन्न साना कार्यक्रमहरूमा टुक्र्याएर खर्च गर्ने तयारी गरिएको उजुरीकर्ताको भनाइ छ । यस्तो निर्णयले कार्यक्रमको प्रभावकारिता घटाउने, अपारदर्शिता बढाउने तथा भ्रष्टाचारको जोखिम उच्च बनाउने दाबी गरिएको छ ।
उजुरीमार्फत कार्यक्रम कार्यान्वयन प्रक्रिया तत्काल रोक्दै छानबिन गर्न, गैरकानुनी निर्णयको वैधता परीक्षण गर्न र संलग्न पदाधिकारीमाथि कानुनअनुसार कारबाही गर्न माग गरिएको छ । साथै, कार्यक्रमलाई स्वीकृत मापदण्डअनुसार पारदर्शी रूपमा सञ्चालन गर्न पनि अनुरोध गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त उजुरीमाथि आवश्यक अध्ययन गरी छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ ।

















