धनगढी – धनगढीस्थित चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस शुक्रबारदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिने विद्यालयले जनाएको छ।
कार्यक्रमको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. हेमराज पन्त र आध्यात्मिक चिन्तक चैतन्य कृष्ण महाराजको उपस्थितिमा गरिएको हो। कार्यक्रमको सभाध्यक्षता पाठशालाका पीटीए अध्यक्ष ईश्वर गिरीले गरेका थिए।


रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा शिक्षाविद्, राष्ट्रसेवक, साहित्यकार, पत्रकार तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात प्रभातफेरीबाट गरिएको थियो भने त्यसपछि विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको छ। यस्ता सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरू शनिबार पनि निरन्तर रहने आयोजकले जनाएको छ।
विद्यालयका अनुसार रजत जयन्तीको अवसरमा शिक्षा, साहित्य, खेलकुद, समाजसेवा लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका दुई सयभन्दा बढी व्यक्तित्वलाई सम्मान गरिनेछ।


















