चन्द्र सिंह धामी – वर्तमान नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ बहुमतको दिशामा पाइला चालिरहँदा संसदभित्र प्रतिपक्षको परिभाषा र स्वरूपमा ठूलो परिवर्तन आएको छ, जहाँ प्रतिपक्ष भनेको केवल गणितीय संख्या मात्र नभएर सदनमा उठ्ने मुद्दा, विचार र जनताको सशक्त आवाज हो भन्ने मान्यता स्थापित भएको छ । यसै परिप्रेक्ष्यमा सदनको सबैभन्दा सशक्त प्रतिपक्षीका रूपमा श्रम संस्कृति पार्टी र यसको नेतृत्वकर्ता हर्क साम्पाङको उदयलाई अत्यन्तै महत्वका साथ हेरिएको छ, जसलाई चिन्नका लागि सरल, विद्रोही, जुझारु र अररो जस्ता चारवटा विशिष्ट शब्दहरू प्रयोग गर्न सकिन्छ ।
हर्क साम्पाङको व्यक्तित्व र उनको राजनीतिक शैलीले राष्ट्रिय स्वतन्त्र पार्टीका १८२–१८३ जना सांसदहरूका लागि उनी एक्लै भारी पर्न सक्ने आँकलन गरिएको छ, किनभने उनले उठाउने प्रश्नहरू र गर्ने गर्जनलाई पुराना राजनीतिक दलहरूको परम्परागत आलोचनाको रूपमा मात्र हेरेर उपेक्षा गर्न सकिने अवस्था छैन । राष्ट्रिय स्वतन्त्र पार्टी आफैँमा नयाँ भए तापनि हर्क साम्पाङको दल त्यो भन्दा पनि नयाँ र फरक जगबाट आएको हुनाले यसको प्रभाव र दबाब सदनमा विशेष रहने देखिन्छ ।

विशेष गरी २०७९ सालको स्थानीय तहको निर्वाचनमा बालेन शाहले काठमाडौँबाट, हर्क साम्पाङले धरानबाट र गोपी हमालले धनगढीबाट स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरेपछि नेपाली जनतामा परम्परागत राजनीतिक दलहरू प्रति रहेको वितृष्णा र वैकल्पिक राजनीतिको चाहना प्रष्ट भएको थियो। यही लहरको बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी एउटा ठूलो शक्तिका रूपमा आए पनि हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले आफ्नो छुट्टै र मौलिक पहिचान बनाउन सफल भएको छ ।
श्रम संस्कृति पार्टीले स्थापनाको छोटो समयमै, विशेष गरी गत कार्तिक १६ गते निर्वाचन आयोगबाट आधिकारिक प्रमाणपत्र पाएको चार महिनाभित्रै, राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ । हर्क साम्पाङले धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर जनजनमा आफ्ना मुद्दाहरू स्थापित गराउने जुन प्रयत्न गरे, त्यसले उनलाई स्थानीय नेताबाट राष्ट्रिय नेताको छविमा रूपान्तरण गर्न सहयोग पुर्याएको छ । निर्वाचनको परिणामलाई हेर्दा श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ तीनवटा महत्वपूर्ण स्थानमा जित हासिल गरेको छ, जसमा सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट हर्कराज साम्पाङ राई आफैँ विजयी भएका छन् भने उनको गृह जिल्ला खोटाङको निर्वाचन क्षेत्र नम्बर १ बाट आरन राई र भोजपुर निर्वाचन क्षेत्र नम्बर १ बाट धुर्वराज राई विजयी भएका छन् । यसका साथै समानुपातिक तर्फ पनि साढे तीन लाखभन्दा बढी मत प्राप्त गरी चारवटा सिट सुरक्षित गरेर यो पार्टी सदनमा सात जना सांसद सहितको एउटा प्रभावशाली शक्तिका रूपमा उभिएको छ ।
हर्क साम्पाङको यो राजनीतिक यात्रा कुनै आकस्मिक घटना नभएर वर्षौँको संघर्ष र अभियानको परिणाम हो, जुन विशेष गरी सर्दु खोला बचाउ अभियान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको भ्रष्टाचार विरुद्धको एक्लो लडाइँबाट प्रारम्भ भएको थियो ।
हर्क साम्पाङको व्यक्तित्वमा एउटा विद्रोहीपन र ज्याद्रोपन छ, जसलाई जनताले २०७९ सालको निर्वाचनमा अनुमोदन गरिदिएका हुन् । उनले कुनै आयातित ‘वाद’ वा विदेशी दर्शनको साटो माटोको दर्शन र माटोको वादलाई अगाडि सारेका छन्, जसलाई उनले ‘हर्कवाद’ को रूपमा पनि व्याख्या गर्ने गर्दछन् ।

यो दर्शनका मुख्य पाँचवटा आधारस्तम्भहरू प्रकृति, संस्कृति, श्रम, ढुंगा र माटो हुन्, जसले नेपाली समाजको मौलिकता र आत्मनिर्भरतालाई जोड दिन्छन् । साम्पाङले अघि सारेका राजनीतिक सिद्धान्तहरू निकै सरल र सर्वसाधारणले बुझ्न सक्ने खालका छन्: श्रम गर्नुपर्छ, जनताका लागि काम गर्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ, भ्रष्टाचारको अन्त्य हुनुपर्छ र भ्रष्टाचार गर्नेहरूलाई कडा कारबाही हुनुपर्छ । यी पाँच सूत्रहरू नै उनको राजनीतिको मूल मन्त्र बनेका छन्, जसले उनलाई ठूला र पुराना दलहरू भन्दा फरक र जनप्रिय बनाएको छ ।
राजनीतिक आरोह-अवरोहकै क्रममा हर्क साम्पाङ र काठमाडौँका मेयर बालेन शाहबीचको सम्बन्धमा पनि उतारचढाव आएको देखिन्छ । सुरुका दिनहरूमा उनीहरू दुवैले एउटै चुनाव चिन्ह ‘लौरो’ लिएर चुनाव लडेका थिए र काठमाडौँ आउँदा साम्पाङले बालेनसँग भेटघाट गर्ने र तस्वीरहरू सार्वजनिक गर्ने गर्दथे । तर, पछिल्लो समयमा विशेष गरी ‘जेनजी विद्रोह’ पछि प्रधानमन्त्रीको चयनका विषयमा उनीहरूबीच मतभिन्नता सुरु भएको पाइन्छ । हर्क साम्पाङले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्दै प्रधान सेनापतिसँग भेट समेत गरेका थिए, तर बालेन शाहले सुशिला कार्कीको नामलाई अनुमोदन गरेपछि यी दुईबीचको दूरी बढ्न थाल्यो । अहिले साम्पाङले बालेन शाहलाई विदेशीको एजेन्ट भएको र प्रश्नको उत्तर दिन नसक्ने पात्रका रूपमा आलोचना गर्ने गरेका छन् भने बालेन शाहले साम्पाङका हरेक आलोचनात्मक पोस्टहरूमा ‘आई लभ यु’ भन्दै सुमधुर कटाक्ष मार्फत जवाफ दिने गरेको एउटा रोचक दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ । साम्पाङको नजरमा अहिले बालेन शाह भन्दा रवि लामिछाने प्रधानमन्त्रीका लागि बढी उपयुक्त र लायक पात्र हुन्, किनभने लामिछानेले जनताका प्रश्नहरूको उत्तर दिन र तर्क गर्न सक्छन् भन्ने उनको बुझाइ छ ।
सदनमा हर्क साम्पाङको उपस्थितिलाई ऐतिहासिक सन्दर्भसँग जोडेर हेर्दा उनलाई पञ्चायत कालका विद्रोही पात्र रूपचन्द्र विष्ट (रुदाने) सँग तुलना गर्न सकिन्छ । ३० को दशकमा ‘थाहा’ अभियान मार्फत जनतालाई जगाउने रूपचन्द्र विष्टले जसरी राजा र प्रधानमन्त्रीहरूलाई सदनमै उभिएर ठाडै ललकार्थे र ‘तिमी’ भनेर सम्बोधन गर्ने आँट गर्थे, साम्पाङको विद्रोही र सरल स्वभावमा पनि त्यस्तै प्रवृति झल्कन्छ । विष्टले श्रमदान मार्फत भवनहरू बनाए जस्तै साम्पाङले पनि श्रमको संस्कृतिलाई आफ्नो जीवन पद्धति र राजनीतिको मूल आधार बनाएका छन् ।
सदनमा संख्यात्मक रूपमा थोरै भए पनि नैतिक धरातल बलियो भएका पात्रहरूले कसरी प्रभाव पार्न सक्छन् भन्ने उदाहरण विगतमा पदम रत्न तुलाधर, नारायणमान बिजुक्छे, प्रेम सुवाल र चित्रबहादुर केसीले देखाइसकेका छन् । साम्पाङ र उनको श्रम संस्कृति पार्टीले पनि सदनमा कानुन निर्माणको संख्यामा भन्दा पनि सरकारलाई खबरदारी गर्ने र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने कुरामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
यद्यपि, हर्क साम्पाङको राजनीतिक भविष्य र उनको दलको विस्तारका लागि केही चुनौतीहरू र आलोचनाहरू पनि विद्यमान छन् । उनीमाथि विशेष गरी जनजाति समुदाय, त्यसमा पनि राई समुदायमा मात्र केन्द्रित भएको र उनको दल क्षेत्रीय दलका रूपमा मात्र पूर्वतिर सीमित रहेको आरोप लाग्ने गरेको छ। यदि उनले आफ्नो दललाई वास्तविक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने हो भने उनले जातीय र क्षेत्रीय घेराभन्दा माथि उठेर फराकिलो र उद्दात सोच राख्नुपर्ने आवश्यकता छ । साथै, उनको ‘बेलगाम’ बोली र सामाजिक सञ्जालमा गरिने चर्को कटाक्षहरूलाई नियन्त्रण गरी जिम्मेवार र मर्यादित माननीयको भूमिकामा आफूलाई प्रस्तुत गर्नुपर्ने सुझाव पनि दिइएको छ । अब उनी केवल एक अभियानकर्ता वा मेयर मात्र नभएर संसदको पाँचौँ ठूलो शक्तिको नेतृत्व गर्ने नेता भएकाले उनको हरेक शब्द र व्यवहारको राष्ट्रिय महत्व रहनेछ ।
श्रम संस्कृति पार्टीको उपस्थिति अहिले पूर्वका सुनसरी, भोजपुर र खोटाङमा मात्र सीमित नरहेर इलाम, मोरङ, पाँचथर, धनकुटा, उदयपुर र झापा जस्ता जिल्लाहरूमा पनि निर्णायक प्रतिपक्षी वा निकटतम प्रतिद्वन्द्वीका रूपमा देखिएको छ । यसले के संकेत गर्दछ भने यदि अहिलेका नयाँ भनिएका दलहरूले जनताको अपेक्षा अनुसार काम गर्न सकेनन् भने हर्क साम्पाङको नेतृत्वमा एउटा नयाँ र शक्तिशाली वेग आउने निश्चित छ । सदनमा नीति, कार्यक्रम र बजेटमाथि छलफल हुँदा साम्पाङले तथ्य र तर्कमा आधारित भएर विरोधका लागि मात्र विरोध नगरी एउटा सशक्त टिम निर्माण गर्न जरुरी छ । उनको उपस्थितिले भारतीय संसदमा अटल बिहारी बाजपेयी बोल्दा सबैले ध्यानपूर्वक सुने जस्तै गरिमा र प्रभाव राख्न सक्नुपर्छ ।
अन्त्यमा, नेपालको वैकल्पिक राजनीतिमा रवि लामिछाने, बालेन शाह र हर्क साम्पाङ मिलेको भए सदनमा प्रतिपक्ष नै शून्य हुने अवस्था आउन सक्थ्यो, तर साम्पाङले आफ्नो छुट्टै अस्तित्व कायम राखेर सदनलाई एउटा सशक्त प्रतिपक्ष दिनुलाई सकारात्मक रूपमा लिइएको छ । उनको यो राजनीतिक यात्राले श्रमको सम्मान गर्ने नयाँ संस्कृतिको विकास गरोस् र संसदमा जनताको आवाज अझै बुलन्द बनोस् भन्ने शुभेच्छा सहित उनीबाट जिम्मेवार प्रतिपक्षीको भूमिकाको अपेक्षा गरिएको छ ।
✍️ लेखक चन्द्र सिंह धामी दार्चुला बहुमुखी क्याम्पसका सहायक प्राध्यापक हुन्।

















