खाेज्नुहाेस

ऐश्वर्य विद्या निकेतनद्धारा ४९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना

Image

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका – ५ हसनपुरस्थित ऐश्वर्य विद्या निकेतनले ४९औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षक तथा विद्यार्थी गरी ४८ जनाले रक्तदान गरेका छन् ।

navjiwan hospital

युवा रेडक्रस सर्कल ऐश्वर्य विद्या निकेतनको आयोजनामा भएको कार्यक्रमले वार्षिकोत्सवलाई औपचारिक उत्सवमा मात्र सीमित नराखी मानवीय सेवासँग जोड्ने प्रयास गरेको विद्यालयका प्रधानाध्यापक सञ्जय पन्तले बताए । विद्यालय प्राङ्गणमै सञ्चालन गरिएको रक्तदान कार्यक्रममा शिक्षक, अभिभावक तथा कक्षा १२ का विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

attariya hospital

विद्यालयका प्रधानाध्यापक पन्तले वार्षिकोत्सवको अवसरमा सामाजिक कार्यमार्फत समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले रक्तदान कार्यक्रम राखिएको बताए । ‘रक्तदान जीवनदान हो भन्ने सन्देश विद्यार्थीहरूलाई व्यवहारमै सिकाउने हाम्रो प्रयास हो,’ उनले भने, ‘विद्यालयले केवल शैक्षिक ज्ञान मात्र नभई सामाजिक जिम्मेवारी पनि सिकाउनुपर्छ भन्ने मान्यताअनुसार यो कार्यक्रम आयोजना गरिएको हो ।’

रक्तदान कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए । १८ वर्ष उमेर पूरा गरेका विद्यार्थीहरूले पहिलोपटक रक्तदान गर्दा आफूलाई गर्व महसुस भएको बताएका छन् । कार्यक्रम व्यवस्थापनका लागि स्थानीय स्वास्थ्यकर्मीहरूको टोली खटिएको थियो ।