अत्तरिया – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा रहेको गेटा अस्पतालमा भिडियो एक्स–रे र म्यामोग्राफी सेवा बन्द भएका छन् । दुवै सेवा रेडियोलोजिस्ट डाक्टर नहुँदा बन्द भएका हुन । २ महिना अघि नै रेडियोलोजिस्ट डा. होम पन्तको कोसीमा सरुवा फिर्ता भएपछि उनले जागिर नै नगर्ने भन्दै राजीनामा दिएदेखि सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले बताए । यसअघि पनि दैनिक २० जनाको मात्रै भिडियो एक्स–रे हुने गरेको गेटा अस्पतालमा हाल सेवा पुरै बन्द भए पनि बिरामी बाहिर निजी अस्पतालमा जान बाध्य भएका छन् ।
यसअघि गेटा अस्पतालमा कार्यरत रहेका डा. पन्तलाई सेती प्रादेशिक अस्पतालको पनि जिम्मेवारी दिइँदा उनी बिहान ११ बजे देखि २ बजे सम्म मात्रै नियमित भिडियो एक्स–रे गर्ने गरेका थिए । डा. पन्तलाई पनि गेटामै कार्यरत रहने गरी नियुक्ति दिइएको भए पनि उनीलाई सेती अस्पतालमा पनि सिटी स्क्यान गर्ने जिम्मेवारी तोकिएकाले २० जनाको मात्रै भिडियो एक्स–रे गर्ने गरिएको थियो ।

सूचना अधिकारी कार्कीले गर्भवती जाँचको लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) डाक्टरले नै भिडियो एक्स–रे गरे पनि अन्य भिडियो एक्स–रे सेवा भने बन्द रहेको बताए । उनका अनुसार रेडियोलोजिस्ट डाक्टर नहुँदा म्यामोग्राफी (स्तन एक्स–रे जाँच) सेवा पनि बन्द भएको छ । म्यामोग्राफीको रिपोर्टिङ पनि रेडियोलोजिस्ट डाक्टरलाई गर्नुपर्ने भएकाले रेडियोलोजिस्ट डाक्टर नहुँदा सेवा बन्द भएको उनले बताए । म्यामोग्राफी सेवा यस क्षेत्रमा पहिलो पटक सञ्चालनमा ल्याइएको थियो ।

सूचना अधिकारी कार्कीले नयाँ रेडियोलोजिस्ट डाक्टर ल्याउने प्रयास भए पनि सफल नभएको बताए । उनले अब चालु आर्थिक वर्ष पनि सकिन लागेकाले नयाँ आर्थिक वर्षमै यसको प्रक्रिया अगाडी बढ्ने बताए ।
२०८० कार्तिक १ गते देखि सेवा सुरु भएको अस्पतालमा सेवा विस्तार हुनुको साटो झन् समयमा डाक्टरको पूर्ति गर्न नसक्दा भएका सेवा पनि बन्द भएपछि स्थानीयले आक्रोश पोखेका छन् । नेपालको पहिलो चिकित्सा शिक्षा अध्ययन गराउने विश्वविद्यालय मातहत ल्याउने तयारी गरिएको अस्पतालको सेवा विस्तार गर्न आवाज उठिरहेका बेला सामान्य सेवा समेत बन्द हुनु दुःखद भएको गोदावरी नगरपालिका – १ का रमेश विष्टले बताए । उनले अस्पतालमा भिडियो एक्स–रे सेवा बन्द हुँदा नजिकै निजी अस्पताल पनि नभएकाले धनगढी या अत्तरिया पुग्नुपर्ने बाध्यता रहेको बताए ।
६ सय शय्याको भौतिक संरचना निर्माण भएको अस्पतालमा हाल ५० शय्यामा मात्रै सञ्चालनमा रहेको छ । अस्पतालमा सेवा विस्तारका लागि पटक पटक यस क्षेत्रका स्थानीयले दबाब दिँदै आएका भए पनि हाल भएका सेवा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । अस्पतालमा यसअघि नै आइसियु एन आइसियु सेवा पनि सञ्चालन गर्ने भन्दै पूर्वाधार निर्माण गरिएको भए पनि सो सेवा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।
हाल अस्पतालको ओपिडी भवनमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल लेखिएको छ । विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट नै चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै सरकारले यस वर्ष बजेट पनि विनियोजन गरेको छ । तर, चिकित्सा शिक्षा अध्ययनका लागि चाहिले अस्पतालको स्तरोन्नतिमा भने अझै ध्यान दिइएको छैन । सरकारले चालु शैक्षिक सत्रमा गेटामा चिकित्सा शिक्षा अध्यापनका लागि सेती, महाकाली र टीकापुर अस्पताल सँग सहकार्य गर्ने जनाएको छ ।


















