अत्तरिया– सार्क चेम्बर अफ कमर्सका अध्यक्ष चन्डीराज ढकाल आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. ४ मा स्वतन्त्र उठेका उम्मेदवार छत्र भट्टको सचिवालयमा आएका छन । बुधबार स्वतन्त्र उम्मेदवार भट्टलाई भेट्न नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष समेत रहेका ढकाल कैलाली आएका हुन । उनले भट्टको सचिवालयमा पत्रकारहरुसँग कुरा गर्दै जितको शुभकामना दिए ।

उनले स्वतन्त्र उम्मेदवार भट्टले कैलाली क्षेत्र नं. ४ को विकासका लागि आफूलाई अग्रपंतीमा उभ्याउन सक्ने बताए । उनले यो क्षेत्रको विकास र युवाहरुको रोजगारीका लागि भट्टले योगदान दिन सक्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफूले लामो समयदेखी भट्टलाई चिनेको बताउदै उनले कृषि, रोजगारी , पर्यटन लगायतका क्षेत्रमा भट्टले अन्य भन्दा बढी काम गर्न सक्ने विस्वास व्यक्त गरे । उनले भट्टको सम्पर्कलाई यो क्षेत्रले समात्न आवश्यक रहेको बताए ।

‘यो क्षेत्रको विकासका लागि तपाई सँग के योजना छ भनेर मैले उहाँ (भट्ट) लाई सोधेको थिए’ उनले भने ‘उनले सुनाएका योजनाहरुले साच्चै यो क्षेत्रमा विकास गर्न सकिने खालका देखे ।’ उनले कैलाली – ४ लाई समृद्धिको क्षेत्र, अर्थतन्त्रको सबल क्षेत्र रोजगारीको सबैभन्दा बढी अवसर प्राप्त गर्न सकिने क्षेत्रको रुपमा स्वतन्त्र उम्मेदवार भट्टले विकास गर्न सक्ने बताए ।
देशका मन्त्रीहरुले भारतमा कनेक्सन गर्न नसक्ने विषयमा स्वतन्त्र उम्मेदवार भट्टसँग त्यो कनेक्सन गर्न सक्ने क्षमता भएकाले त्यस्तो व्यक्तिलाई यो क्षेत्रको जनप्रतिनिधि बनाउदा बढी प्रभावकारी हुने अध्यक्ष ढकालको भनाई छ ।



















