अत्तरिया – अटो व्यवसायीहरूले आफ्ना समस्या समाधानको लागि पहल गरिदिन प्रतिनिधि सभाका उम्मेदवारलाई ज्ञापन पत्र बुझाएका छन् । सुदूरपश्चिम अटो यातायात प्रालिले व्यवस्थित अटो स्ट्यान्ड तथा पार्किङको व्यवस्थापन लगायतका माग गर्दै कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवारहरूलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रालिका सञ्चालक अध्यक्ष सिताराम कठायतले मंगलबार प्रतिनिधि सभा उम्मेदवार राप्रपाका कमल रजबार बम र उज्यालो नेपालका उम्मेदवार सुभाष कुँवरलाई ज्ञापन पत्र बुझाएको बताए ।

ज्ञापन पत्रमा स्पष्ट र पारदर्शी भाडा दर निर्धारण तथा सार्वजनिक सूचना प्रकाशन गरिनुपर्ने, अटो दर्ता, नवीकरण र अनुमतिलाई सरल, छिटो र प्रविधिमैत्री बनाउनु पर्ने, ट्राफिक सचेतना तथा चालक क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गरिनुपर्ने, अटो व्यवसायीहरूलाई सामाजिक सुरक्षा, बिमा तथा आपतकालिन राहत कार्यक्रमको व्यवस्था गरिनुपर्ने र सहर तथा ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधार र विस्तार गरिनुपर्ने माग उल्लेख छन् ।
ज्ञापन पत्र बुझ्दै प्रतिनिधि सभा उम्मेदवार कमल रजबारले अटो व्यवसायीका समस्या प्रति ट्राफिक प्रहरी, स्थानीय सरकार गम्भीर हुनुपर्ने बताए । उनले अटो व्यवस्थापन नभएको बताउँदै यसका लागि सम्बन्धित सबै निकाय लाग्नुपर्ने बताए । उनले अटो व्यवसाय व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढेको बताए । चुनाव जिते पनि हारे पनि अटो व्यवसायीका समस्या समाधानका लागि लागिपर्ने बताए ।



















