धनगढी– कैलालीमा ‘च्याम्पियन–३६, ग्रासरुट टु ग्लोरी’ अभियानको थालनी भएको छ । सन् २०३६ मा टी –२० विश्वकप क्रिकेट उपाधि उचाल्ने खेलाडीहरु तयार गर्ने उद्देश्यसहित गो ड्रिमर्सले उक्त अभियानको सुरुवात गरेको हो ।

सुरुवाती चरणमा उक्त अभियान अन्तर्गत गो ड्रि«मर्स र ऐश्वर्य विद्या निकेतनबिच १० वर्षे रणनीतिक सहकार्य घोषणा भएको छ । ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्त र गो ड्रि«मर्सका अध्यक्ष सुवास शाहीले दश वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्दै उक्त अभियानको सुरुवात गरे । अभियानले आधारभूत तहबाटै प्रतिभाशाली युवा क्रिकेट खेलाडी उत्पादन गरी सन् २०३६ सम्म नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र विश्वस्तरीय टोलीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको गो ड्रिमर्सका अध्यक्ष शाहीले बताए । उनले सो अभियानलाई देशभरि नै सञ्चालन गरिने बताए ।

अबको १० वर्षपछि क्रिकेट खेलमा विश्वकप च्याम्पियन बन्ने सपनाका साथ क्रिकेटको सहर धनगढीबाट अभियान सुरु गरिएको शाहीको भनाई छ । कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ऐश्वर्य विद्या निकेतनका अध्यक्ष तथा पूर्व नगर प्रमुख नृपबहादुर वडले सबै सरोकारवाला निकाय, अभिभावक, प्रशिक्षक तथा खेलाडीलाई एकजुट भएर अभियानलाई सफल बनाउन आह्वान गरे ।
प्रशिक्षण कार्यक्रमअन्तर्गत प्राविधिक सीप विकास, खेल रणनीति, फिटनेस, मानसिक सुदृढता, दबाब व्यवस्थापन, अनुशासन, टीमवर्क र नेतृत्व विकासलाई प्राथमिकता दिइने बताईएको छ । खेलाडीलाई आधुनिक प्रशिक्षण प्रणाली, प्रदर्शन विश्लेषण तथा चरणबद्ध विकास मोडेलमार्फत दीर्घकालीन रूपमा तयार गरिने योजना छ ।



















