खाेज्नुहाेस

एकै छाना मुनी सीप सिक्दै, सपना बुन्दै सुदूरपश्चिमका युवा

Image

अत्तरिया – ब्युटी पार्लरमा डिप्लोमा गरेकी जानकी जोशी माघ ५ गते देखि धनगढीमा सञ्चालित सीप तथा रोजगार मेलामा एडभान्स ब्युटीसियन तालिम लिइरहेकी छिन । धनगढी उपमहानगरपालिका – ५ तारानगरकी उनले तालिममा स्किन केयर, वाक्स, फेसियल, हेयर स्टाइल कलरको बारेमा जानकारी पाएको बताइन् । डिप्लोमा मात्रै गरेको भन्दा बढी सीप सिक्न पाएकाले अब भने उनी आफ्नै व्यवसाय गर्ने आट आएको बताइन ।

‘पहिला पनि मैले डिप्लोमा गरेको थिए । यो एडभान्स कोर्सले मलाई धेरै सहयोग गरेको छ’ उनले भनिन् ‘थप सिकाइ गर्ने अवसर पाए । अब म आफै स्वरोजगार बन्छु ।’ एडभान्स ब्युटीसियन तालिममै सहभागी तुलसी शाहले पनि ब्युटीसियन सम्बन्धी धेरै ज्ञान पाएको बताइन् । उनले पनि तालिम लिएपछि आफ्नै व्यवसाय सुरु गर्ने योजना रहेको बताइन् ।

attariya hospital

तालिमकी प्रशिक्षक सपना रोकायाले ब्युटीसियन तालिममा २५ जना सहभागी रहेको बताइन् । उनले ब्युटीसियन तालिम लिएकाहरूका लागि स्वदेश तथा विदेशमा राम्रो रोजगारीको अवसर रहेको बताइन । उनले आफै स्वरोजगार हुन पनि थोरै लगानीका काम सुरु गर्न सकिने बताइन् ।

गत वर्ष तालिम लिएका धेरैले रोजगार पाएको बताउँदै उनले यस वर्ष तालिम लिएकाहरू पनि रोजगार गर्न र स्वरोजगार बन्न उत्साहित रहेको बताइन् ।

सीप तथा रोजगार मेलामा इसीडी शिक्षकको तालिम लिइरहेकी धनगढी – ८ की कविता बिसीले पनि तालिम लिए पनि आफूमा धेरै परिवर्तन भएको बताइन । गृहणीमै सीमित उनले अब भने शिक्षण पेसा गर्न सक्ने क्षमताको विकास भएको बताइन् ।

यस्तै लेखा व्यवस्थापक तालिम लिइरहेकी बैतडीको पाटनकी जयन्ती धामीले तालिम लिएपछि सिधै फिल्डमा गएर काम गर्न सक्ने भएको बताइन । उनले बिजी सफ्टवेयरमा लेखाको हिसाब राख्ने देखि व्यवहारिक ज्ञान सिक्ने अवसर पाएको खुसी लागेको बताइन् ।

navjiwan hospital

लेखा तालिमका प्रशिक्षक दिनेश राज जैसीले औपचारिक शिक्षा लिएका विद्यार्थीले यो तालिम लिएपछि सहज रूपमा काम गर्ने सक्ने बताए । उनले तालिम पश्चात् बजारमा उच्च माग गरेको एकाउन्टेन्टको पूर्ति गर्न सहयोग पुग्ने बताए ।

सीप तथा रोजगार मेलामा यस वर्ष पनि पुरोहित तालिम पनि सञ्चालन गरिएको छ । तालिमका प्रशिक्षक सहदेव जोशीले हराउँदै गएको संस्कार संरक्षणमा तालिमले महत्त्वपूर्ण सहयोग पुग्ने बताए । उनले तालिममा १८ विधामा प्रशिक्षण दिएको बताए । सीप तथा रोजगार मेलामा एकेडेमी सेक्टरका कोडिनेटर समेत रहेका उनले ब्राह्मणले गर्ने नित्य पूजा, संस्कारका कुरा पनि सिकाइएको बताए ।

सीप तथा रोजगार मेलामा जनजातिका पोसाक बनाउन सिकिरहेकी कृष्णा सापकोटाले बेरोजगारका लागि सीप तथा रोजगार मेलाले धेरै सहयोग पुगेको बताइन । उनले सीप सिकेर जीविकोपार्जन गर्न सहयोग पुग्ने बताउँदै यसलाई निरन्तरता दिइनुपर्ने बताइन । सीप सिकाउने तरिका पनि निकै राम्रो भएको बताउँदै उनले तालिम लिएपछि आफ्नै व्यवसाय गर्ने योजना रहेको बताइन् ।

जनजातिका पोसाक तालिममा सहभागी विनीता चौधरीले कुर्ता, सुरवाल, चौबन्दी, सर्ट पाइन्ट सिलाउन सिकेको बताइन । उनले सीप सिकेर आफ्नै पसल खोल्ने योजना रहेको बताइन् ।

तालिमका प्रशिक्षक मोहन प्रसाद भुसालले तालिम निकै प्रभावकारी भएको बताए । गत वर्ष पनि प्रशिक्षकका रूपमा काम गरेका उनले राष्ट्रिय पोसाक, गुरुङ ड्रेस, दाउरा सुरवाल, मगर ड्रेस सिकाउने बताए ।

डगौरा थारु पोसाक सिलाउने तालिम लिइरहेकी अमृता चौधरीले पनि थारु पोसाक बनाउन सिकेको बताइन् । उनले सीप सिकेर पसल सञ्चालन गर्ने योजना रहेको बताइन । तालिमकी प्रशिक्षक ज्ञानी चौधरीले डगौरा थारु पोसाकको राम्रो बजार भएको बताइन् । सीप सिकेकाले गाउँ घरमै पनि आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने बताइन् ।

धनगढी उपमहानगरपालिको माघ ५ गते देखि धनगढीको खुला मञ्चमा प्रदेश स्तरीय सीप तथा रोजगार मेला आयोजना गरेको छ । मेलामा हाल ७ विधामा २२ वटा तालिम सञ्चालन भइरहेका छन् । एक महिना सीप सम्बन्धी तालिम लिएकाहरूलाई पुनः ५ दिनको स्वरोजगार वा रोजगार गर्ने समूहमा विभाजन काउन्सिलिङ तालिम दिइने जनाइएको छ ।