अत्तरिया– एकल महिला भएपछि धेरै चुनौतीहरु आउँछन । त्यसमाथी पनि कलिलो उमेरमै श्रीमान गुमाउनुपर्दा व्यक्तिगत पिडा मात्रै नभई घर, गाउँसमाजको किचलोको चुनौती पनि सामाना गर्नुपर्ने बाध्यता हुन्छ । त्यस्तै चुनौतीहरुसँग लड्दै अत्तरियामा उनले महिला तथा बालबालिका सेभ हाउस स्थापना गरिन । २९ वर्षको कलिलो उमेरमै श्रीमान गुमाएकी जानकी मलासी समाजसँग लड्दै अघि बढीन ।
गाउँसमाजका धेरै कुराहरुको चुनौती उनलाई आएको थियो । ती चुनौतीका बिच उनले विभिन्न समस्याहरु भोग्नुप¥यो । आफूलाई परेको समस्या अरुलाई नपरोस भन्ने सोचेर उनले अत्तरियामा सेभ हाउस खोल्ने योजना बनाईन । ‘त्यतिबेला कुनै ठाउँमा काम माग्न जाँदा पनि कसैले पत्याउदैन थे, उल्टो प्रलोभनको सिकार भए म’ उनले भनिन् ‘मेरो जस्तो प्रलोभनको सिकार अरु कसैले हुन नपरोस भन्ने लागिरहन्थ्यो । त्यो सोचाई राखेर सेभ हाउस खोल्ने योजना बनेको हो ।’

२०७३ सालमा सेभ हाउस खोलेकी उनले २ जना बालबालिकाहरुलाई आश्रय दिएर सुरुवात गरेकी थिईन । उनले सेभ हाउसले सडक मानवहरु, समस्यामा परेका महिला तथा बालबालिका, अनाथ, असहाय र शारिरीक शोषणको सिकार बनेका महिलाहरुलाई आश्रय दिने र उनिहरुको पुर्नस्थापना गर्ने काम गर्दै आईरहेको बताईन । उनले हालसम्म सेभ हाउसबाट ३७० भन्दा बढी महिलाहरुको पुर्नस्थापना गर्न सफल भएको बताईन । त्यतिमात्रै नभई सेभ हाउसले ६३ जना बालबालिकाहरुको पनि पुर्नस्थापना गरेको उनको भनाई छ ।
‘हामी कहाँ अभिभावक नभएका बालबालिकाहरु, सडकमा भौतारिरहेका, खान बस्नको ठेगान नभएका बालबालिकाहरु पनि आए, त्यतिमात्रै नभई आफ्नै अभिभावकबाट बलात्कृत भएका बालिकाहरुलाई पनि हामीले आश्रय दियौँ’ उनले भनिन् ‘अहिले ति बालबालिकाहरुमध्येबाट ६३ जनालाई हामीले पुर्नस्थापीत गरिसकेका छौ ।’ उनले पुर्नस्थापित गरेका बालबालिकाहरुमध्ये एक जना वकिल, एक जना गायक र एक जना बैंकका कर्मचारी बनिसकेको बताईन । उनले त्यसबाहेक केही बालबालिकाहरु होटल मेनेजमेन्ट पढेर भारतमा काम गरिरहेको समेत बताईन ।

उनका अनुसार सेभ हाउसमा अहिले ४५ जना बालबालिकाहरु छन भने २ जना महिला छन । उनिहरुको खाना, बस्न र स्याहारसुसारका लागि ३ जना कर्मचारी राखिएको उनले बताईन । ति कर्मचारीहरुलाई धेरै दिन नसकिए पनि खाना, बस्न, लुगाकपडा र थोरै आतेजाते दिने गरिएको उनले बताईन ।
सेभ हाउसले अहिले ५० जनालाई दैनिक खाना, बस्न र लुगाकपडा दिने गरेको छ । त्यसको व्यवस्थापन गर्नका लागि सेभ हाउससँग स्रोत छैन । विभिन्न सहयोगीदाताहरुको सहयोगले हालसम्म सेभ हाउसलाई जसोतसो चलाउन सकिएको मलासीले बताईन । ‘स्थापना गरेको २ वर्षसम्म त मुठीदानले सेभ हाउस चलाए, सुत्नका लागि बिछ्यौना थिएनन, फाटेको चटईमा सम्म बालबालिका राख्नुपरेको थियो’ उनले भनिन् ‘२०७४ सालमा स्थानिय सरकार आएसँगै पहिलो पटक नगरपालिकाले १ लाख सहयोग ग-यो, जसले हामीलाई संस्था सञ्चालनका लागि ठुलो राहत मिल्यो ।’ उनले नगरपालिकाको सहयोग पाएपश्चात भने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले संस्थालाई सहयोग गर्न थालेको बताईन ।
महायज्ञमार्फत अक्षयकोष स्थापना गरिने
अत्तरियामा सेभ हाउसले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाएको छ । सोमबार देखी सुरु भएको महायज्ञ फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । सेभ हाउस सञ्चालन गर्नका लागि कोष भए सहज हुने योजना आएपछि महायज्ञ सञ्चालन गरिएको मलासीको भनाई छ । ‘खाद्यान्न, केही लुगाकपडा लगायतका सामग्रीहरु त सहयोगी मनहरुले दिन्छन’ उनले भनिन् ‘तर केही यस्ता समस्याहरु पनि आउँदा रैछन, जुन आर्थिक बिना सम्भव हुदैनन, त्यसैले यो महायज्ञ मार्फत उठेको रकमले सेभ हाउसको नाममा अक्षयकोष स्थापना गर्ने योजना बनाएका छौ ।’
सेभ हाउसमा आश्रित बालबालिकाको पालन–पोषणका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मलासीले बताईन । ‘सानो सानो कुरामा पनि हात थाप्नुपर्ने अवस्था छ’ उनले भनिन् ‘आर्थिक अभाव हुन थालेपछि अक्षय कोष बनाउदा त्यसबाट आउने ब्याजले केही राहत होला भन्ने सोचेर महायज्ञ आयोजना गरेका हौँ ।’ उनले महायज्ञबाट हुने आम्दानीले अक्षयकोष स्थापना गरिने र त्यसको ब्याजबाट आएको रकम संस्थाका रहेका बालबालिकाहरुका लागि खर्च गरिने बताईन ।
महायज्ञ पूजा–पाठ पारायण, महात्म्य, कथा प्रवचन तथा प्रत्येक दिन साँझ सिंगारिक महाआरती आयोजना हुने आयोजकले जनाएको छ । महायज्ञमा नेपालकै चर्चित कथा वाचिका पूज्या देवी सुमि मानवसहित उनको समूहले कथा प्रवचन गर्नेछन् । यस्तै, मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन् । महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध तथा विवाह लगायतका धार्मिक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ । कार्यक्रम सुरु हुनु पुर्व अत्तरियामा कलश यात्रा निकालिएको थियो । भव्य रुपमा आयोजना गरिएको कलश यात्रामा विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
















