धनगढी — बिहीबार बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख रुपैया दिने भएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा निधन भएकाको परिवारलाई जनही एक लाख दिने निर्णय गरेको हो ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले दुर्घनामा घाईते भएका व्यक्तिहरुको सरकारी अस्पतालमा उपचार हुँदासम्म लाग्ने सम्पुर्ण खर्च सरकारले व्यहोर्ने समेत निर्णय गरेको छ । मानवीय सहायता स्वरूप उक्त कार्य गरेको प्रदेश सरकारले जनाएको छ ।

बिहीबार बैतडीबाट जन्ती लिएर बझाङतर्फ फर्किँदै गरेको सु–प–प्र–०२–००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका–७ स्थित बडगाउँमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने ३५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



















