खाेज्नुहाेस

यात्रा गर्न जोखिमपूर्ण बन्दै ६ लेन सडक, छैन सुरक्षामा ध्यान

Image

अत्तरिया – पछिल्लो एक सातामा मात्रै अत्तरिया – धनगढी ६ लेन सडक खण्डको अत्तरिया गेटा क्षेत्रमा मात्रै तीन वटा सवारी दुर्घटना भए । २ सामान्य दुर्घटना भए पनि एक घटनामा भने एक जनाले ज्यान नै गुमाउन पुगे । बिहीबार मात्रै भएको दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने २ जना घाइते भएका छन् ।

रोड क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ का ४५ वर्षीय गोपाल रानाको मृत्यु भएको छ । साइकलमा यु टर्नमा सडक पार गरिरहेका उनलाई धनगढीबाट अत्तरिया तर्फ आउँदै गरेको मोटरसाइकले ठक्कर दिएको थियो । दुर्घटनामा सुप प्र ०१०११ प ८५८५नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका – ५ का २३ वर्षीय नब्लु राना र मोटरसाइकलको पछाडि सवार कृष्णपुर नगरपालिका – ६ का २३ वर्षीय मनुराज राना घाइते भएका छन् ।

attariya hospital

सोही खण्डमा शनिवार दुई बस एक आपसमा ठोक्किएका दुर्घटना भएको थियो । संयोगले मानवीय क्षति नभए पनि लेन क्रस गर्ने क्रममा भएको दुर्घटनामा दुवै बसहरूमा क्षति पुगेको थियो । यसअघि गेटा स्थिति विश्वविद्यालय अगाडि पनि तीव्र गतिमा आइरहेको बसले यु टर्नमै सडक क्रस गरिरहेको अटोलाई ठक्कर दिएपछि अटो उछिट्टिएर सडक किनारामै पल्टिएको थियो ।

navjiwan hospital

यी केही प्रतिनिधि उदाहरण हुन पछिल्लो समय ६ लेन सडकमा सवारीको चाप बढ्दै गएको भए पनि सडक सुरक्षाका पूर्वाधारको अभाव र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

धनगढी खण्डमा केही दिन अघि मात्रै लेन छुट्टाउने लाइन र जेब्रा क्रसिङ बनाइएको भए पनि गोदावरी खण्डमा भने लेन छुट्टाउने लाइन मेटिएको लामो समय बितिसकेको छ भने जेब्रा क्रसिङ पनि स्पष्ट देखिँदैन । डिभाइडरमा बाटो काट्ने ठाउँ लेखिएको भए पनि सडकमा जेब्रा क्रसिङ नहुँदा पनि दुर्घटनाको जोखिम बढाएको छ । सडकमा तीव्र गतिमा सवारी साधन चलाइने गरेको भए पनि त्यसको नियन्त्रणका लागि ध्यान दिएको पाइँदैन । सडकमा गाडीको स्पिड जाँच गर्ने स्पिड गनको प्रयोग नगरिँदा अन्धाधुन्ध गतिमा सवारी साधन चलाउने गरिदा पनि दुर्घटनाको जोखिम बढेको छ ।

सुदूरपश्चिम अटो यातायात प्रालिका अध्यक्ष सिताराम कठायतले मानिसहरूले लापरबाही गरेर, मोबाइल चलाएर बाटो काट्ने, तोकिएको जेब्रा क्रसिङ भन्दा अन्य ठाउँबाट बाटो काट्ने गर्दा पनि दुर्घटनाको जोखिम बढेको बताए । दुर्घटना घटाउन जेब्रा क्रसिङमा ट्राफिक लाइट राख्ने, नियम मिच्ने सवारी साधनको सीसीटिभि क्यामेरा मार्फत निगरानी गर्नुपर्ने उनको सुझाव छ । उनले मादक पदार्थ सेवन गरेर सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु राख्ने गर्दा दुर्घटना बढिरहेको भए पनि त्यसको नियमन न्यून भएको बताए ।

६ लेन सडकमा सवारी साधनको चाप बढ्दै गएको भए पनि हाल सम्म कुनै पनि ठाउँमा आकाशे पुल निर्माण समेत गरिएको छैन । जसले गर्दा सडक क्रम गर्दा समेत दुर्घटनाको जोखिम बढेको छ । लेन अनुशासन कायम गर्ने, गति नियन्त्रण गर्ने, आवश्यक सडक सुरक्षाका पूर्वाधार निर्माण गर्ने जस्ता काममा ध्यान नदिइँदा हाल यस क्षेत्रको एक मात्रै ६ लेन सडक यात्रा गर्न जोखिमपूर्ण बन्दै गइरहेको छ ।