अत्तरिया– करिब ३२ वर्षदेखि कैलालीको गोदावरी नगरपालिका– ३ मा बस्दै आएकी पद्मा बोहरा पुलको समस्याका कारण आजित थिइन । अत्तरिया तथा गुलरिया बजार पुग्ने छोटो र सहज बाटोको बिचमा नदी भए पनि पुल नहुँदा उनले दशकौँ देखि समस्या झेल्दै आउनुपरेको गुनासो उनको थियो । तर शनिवार कृष्णपुर नगरपालिका– ५ र गोदावरी नगरपालिका– ३ जोड्ने मोहना नदीमाथि पुल निर्माण हुने कुरा थाहा पाएपछि भने उनी खुसीले दङ्ग भइन । ‘धेरै दुख थिए, सक्ने मान्छे नदी तरेर पनि आउँथे भने नसक्ने मान्छे फर्केर जान्थे’ उनले भनिन् ‘पुल नहुँदा नजिकैको बजार पुग्न पनि हामीले लामो बाटो हिँड्नुपर्ने अवस्था थियो, अब पुल बन्ने भयो, अब धेरै खुसी लागेको छ ।’ उनले पुल निर्माण भइदिए हुन्थ्यो भन्ने आफूहरूको दशकौँ पुरानो आशा अब भने पुरा हुने अपेक्षा लिएको बताइन् ।
२०५७ सालदेखि सोही वडाको मुक्ति टोलमा बस्दै आएका दसीराम चौधरी पनि विगतदेखि नै पुलको समस्याका कारण धेरै संघर्ष गर्नुपरेको बताउँछन् । सो टोलका भलमन्सा समेत रहेका उनले विगतदेखि पार्टीका नेताहरूले पुल निर्माणको विषयलाई राजनीतिक मुद्दा मात्रै बनाउने गरेको भए पनि अहिले आएर भने आफूहरूको सबैभन्दा ठुलो समस्या समाधान हुन थालेको बताए । ‘विगतदेखि सबै नेताहरूले चुनावमा हुन्छ मात्रै भन्थे, आशा देखाउँथे’ उनले भने ‘तर पछिल्लो पटकका जनप्रतिनिधिहरूले हामीलाई गरेको बाचा पुरा गरेर देखाउनुभएको छ ।’ उनले धेरै लामो संघर्ष पश्चात् अहिले आएर आफूहरूको मनोकाङ्क्षा पुरा भएको बताए । उनले नदीमा पुल निर्माण भएपश्चात् विकासका अन्य कुराहरू स्वतः रूपमा अघि बढ्ने विश्वास लिएको बताए ।


अर्का स्थानीय जङ्ग बहादुर सुनारले लामो समयदेखि भोग्दै आएको समस्या अब भने समाधान हुने तरखरमा रहेको बताए । उनले विगतमा नदी आवत जावत गर्नका लागि स्थानियस्तरबाट विभिन्न कामहरू गरेको भए पनि अहिले आएर सरकारले आफूहरूको समस्या सुनिदिएको बताए । ‘नदी आवत जावत गर्नका लागि २÷२ चोटि काठे पुल हालियो, स्थानियस्तरबाट सक्ने जति सबै गरेका हौ, तर वर्षायाममा नदी आउँदा पुनः सोही समस्या दोहोरिने गथ्र्यो’ उनले भने ‘तर आज आएर हाम्रो सपना साकार हुने देखिन्छ ।’ उनले पुल सहज रूपमा निर्माण सम्पन्न गराउने जिम्मेवारी आफूहरूको पनि भएकाले स्थानियस्तरबाट पुल निर्माणमा सहयोग गर्न आग्रह गरे ।
स्थानीय युवा नेता योगेश भट्टले आफूहरूको बिसौँ वर्षदेखिको सपनाले मूर्त रूप लिन थालेको बताए । उनले मोहना नदीमा पुल निर्माणका लागि विगतमा गरिएका सङ्घर्षहरू सफल भएको बताए । उनले पुल निर्माणका लागि सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरे ।
गोदावरी – १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले दशकौँ देखि पुल निर्माण गर्न सङ्घर्षरत स्थानियबासीहरुको मुहारमा आज खुसी छाएको बताए । उनले आफूले करिब १८ वर्षको हुदाँदेखि नै पुल निर्माणका लागि विभिन्न ठाउँमा हारगुहार गरिरहेको बताए । उनले आफूहरूको समस्या र हारगुहारलाई सम्बोधन गरिदिएको भन्दै स्थानीय सरकार, प्रदेश तथा संघ सरकारका जनप्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरे ।
सो नदीमा पुल निर्माणका लागि प्रदेश सरकारले ४ करोड १५ लाख ११ हजार ८५ रुपैयाँ विनियोजन गरेको छ । पुल निर्माणको ठेक्का धनगढी– ५ मा रहेको असु खप्तड भैरव जेभीले पाएको छ । पूर्वाधार विकास कार्यालय धनगढीसँग ठेकेदार कम्पनीले २०८२ असार २० गते निर्माणका लागि सम्झौता गरेको छ । जसको अवधि २०८३ पुस ३० गतेसम्म रहेको छ । पुलको लम्बाई ४० मिटर र चौडाइ ८.२ मिटर रहेको निर्माण कम्पनीका ठेकेदार दीपक कुँवरले बताए । उनले सम्झौता छिटो भए पनि वर्षायामको सिजन लगायतका विविध कारणले गर्दा समयमै काम सुरुवात गर्न नसकिएको बताए । उनले सम्झौता अवधिमै वा त्यो भन्दा पनि छिटो काम गर्ने गरी आफूहरू लागिरहेको बताए । उनले स्रोत सुनिश्चितता भए चालु आर्थिक वर्षको अन्तिम सम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।















