धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडाको कौसी गंगाको छेउमा ६५ बिघा जमिनमा मष्टा धाम निर्माण गरिएको छ । धाम क्षेत्रलाई पाँच भागमा विभाजन गरेर मन्दिर लगायतका भौतिक संरचनाहरू निर्माण गरिएका हुन् ।
धाममा दुधे मष्टो र दाडे मष्टाका थानहरूसहित १२ वटै मष्टाका शीलाहरू राखिने मष्टा धाम विकास समितिका अध्यक्ष गणेश जिवी साउँदले बताए । उनले भने, ‘बन्दगडामा विश्वको एक मात्र मष्टा धाम बनाएका छौ । विश्वमा मष्टाको धाम छैन । पूजा गर्दै आएका मात्र छन्। ६५ बिघा क्षेत्रफल छ । माघ १९ गते शीला राख्छौ । मष्टा देवता पञ्जावको जलान्धरबाट पनि शीला ल्याएका छौ । माघ २३ गते प्राण प्रतिष्ठान गर्दैछौ ।’


बन्दगडामा २०७५ सालदेखि मष्टा धाम निर्माण कार्य सुरु भएको थियो । धाम निर्माणका लागि स्थानीयले भूमि दान गरेका थिए । धाममा पश्चिमको महाकालीदेखि पूर्वमा त्रिशूली नदीका शीलाहरु ल्याइएको छ । भारतको पञ्जावबाट समेत शीला ल्याइएको जनाइएको छ । मष्टा धाम व्यवस्थापन समितिका सचिव भीमबहादुर साउँदले भौतिक संरचना निर्माणको काम अझै जारी रहेको बताए ।
उनले भने, ‘यो धार्मिक क्षेत्र हो। हामीले दुधे मष्टो र राडे मष्टोको मन्दिर बनाएका छौ । पार्क बनाउनै छ । चार वटा थानहरू छन् । गणेश थान, कालिका थान बनाएका छौ । मष्टोको नाम फरक–फरक छ। सबैका लागि धाम बनाएका छौ । सबैको आस्थाको केन्द्र बनाउने हाम्रो लक्ष्य हो । सबैले यो धाममा पूजा गर्न सकुन। ११ फिटको मष्टा शीला बनाएका छौ ।’
विकास समितिले धनगढीको शिवपुर धाम, बेहडाबाबा मन्दिर, गोदावरी धाम र मष्टा धामलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने योजना रहेको छ । मष्टा धाममा कुल पूजासहित धार्मिक पर्यटकहरू आउने अपेक्षा गरिएको हो । धाम निर्माणमा हालसम्म करिब तीन करोड खर्च भएको अध्यक्ष गणेश जीवी साउदले बताए । उनले भने, ‘तीन करोड खर्च गरेका छौ । तामाले छायाको दुधु मष्टोको मन्दिर छ । एक दाडे मष्टको मन्दिर छ । शीलाहरू छन् । एक सभा हल बनाउदैछौ । माथि छत लगाउन बाँकी छ ।’ धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने मष्टा धामममा रुद्री पाठसहित माघ २३ गते प्राण प्रतिष्ठान गरिने जनाइएको छ ।
















