निरा कुमारी धामी, अत्तरिया – पर्यटनको प्रचुर सम्भावना हुँदा हुँदै पनि ओझेलमा परेको ठाउँ हो फुलबस्ती । कैलालीको गोदावरी नगरपालिका – ४ मा अवस्थित यो ठाउँ पर्यटकीय क्षेत्रका रूपमा प्रचुर सम्भावना बोकेको छ । तर, विकास निर्माणका आधारभूत कुराहरू पुग्न नसक्दा अहिले फुलबस्ती पर्यटकीय क्षेत्रको रूपमा विकास हुनु त परको कुरा विकट क्षेत्रका रूपमा पहिचान बनाएको छ । जहाँ अहिले पनि न गतिलो सडक छ, न त बिजुली बत्तीको राम्रो व्यवस्था हुन सकेको छ । जसले गर्दा फुलबस्ती नाममा मात्रै सुन्दर बस्तीका रूपमा सीमित हुन पुगेको छ ।
करिब ५०० भन्दा बढी घरधुरी बसोबास गर्ने यो बस्ती समुन्द्र सतह देखि १ हजार २६० फिट उचाइमा अवस्थित छ । तराई चुरे क्षेत्रको दुर्गम ठाउँको रूपमा चिनिने फुलबस्ती प्राकृतिक रूपमा सुन्दर भए पनि भौतिक पूर्वाधारको अभावका कारण दैनिकी निकै सङ्घर्षपूर्ण छ । यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य विद्युत्, सञ्चार लगायतका अत्यावश्यक कुराहरूको अभाव हुँदा मानिसहरूले अझै पनि कष्टकर जीवन भोग्नुपर्ने बाध्य छन् ।
यातायातलाई विकास निर्माणको मुख्य मेरुदण्डका रूपमा लिइने सडकको स्तरोन्नति नहुँदा अहिले पनि निकै सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय नर बहादुर धामीले बताए । उनले कच्ची सडकले फुलबस्तीलाई बजार सम्म जोडेको भए पनि उक्त सडक वर्षमा ७ महिना मात्रै सञ्चालनमा आउने गरेका बताए । ‘कच्ची सडक भएता पनि व्यवस्थित हुन सकेको छैन, त्यसमाथि बस्तीमा दिनमा एकचोटी मात्रै चल्ने एउटा मात्रै गाडी भएका कारण यात्रुहरूलाई समस्या हुने गरेको छ’ उनले भने ।

कच्ची सडक त्यसमाथि यात्रुहरूको चापका कारण फुलबस्ती बासीहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको उनले बताए । उनले बस्तीमा सडक मात्रै नभई बिजुली बत्ती, खानेपानी, स्वास्थ्य, शिक्षा, इन्टरनेट लगाएका सुविधाहरू पनि समस्याका रूपमा देखिने गरेको उनले बताए । लामो समयपछि बस्तीमा दुई फेज विद्युत् सेवा पुगे पनि त्यसले भने जस्तो सुविधा प्राप्त नभएको बताए ।


त्यसबाहेक इन्टरनेटको अभावको समस्या पनि फुलबस्तीबासीले भोग्नुपरेको छ । सोलार प्रणालीमार्फत नेटवर्क सुरु गरिएको भए पनि रातिको समयमा इन्टरनेट तथा नेटवर्क सेवा उपलब्ध नहुँदा समस्या हुने गरेको स्थानीय शिक्षक धन बहादुर धामीले बताए । स्थानीय चाँदनी आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका उनले इन्टरनेट अभावका कारण विद्यार्थीहरूलाई प्रविधिमैत्री र व्यवहारिक शिक्षा दिन सकिने अवस्था नरहेको बताए । ‘२१ औँ शताब्दीको आवश्यकता अनुसार प्रविधिमैत्री र व्यवहारिक शिक्षा दिन सकियो भने फूलबस्तीका विद्यार्थीहरू पनि प्रतिस्पर्धी बन्न सक्छन् र अन्य ठाउँमा सानै उमेरमा शिक्षाका लागि जानुपर्ने आवश्यकता आउनु पर्ने थिएन । आधारभूत तहको शिक्षा आफ्नै ठाउँमा दिन सकिन्थ्यो, तर त्यसका लागि सडक र इन्टरनेट सुविधा अनिवार्य छ’ उनले भने ।
अर्का स्थानीय कृष्ण बहादुर धामीले सुगम जिल्लाको दुर्गम बस्तीका रूपमा फुलबस्तीलाई हेर्ने गरिएको बताए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका अति आवश्यक सुविधाहरू पाउन पनि फुलबस्तीबासीलाई सकस पर्ने गरेको बताए । ‘यहाँ सडक मात्रै नभई गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानीको अभाव छ’ उनले भने ‘कक्षा ८ सम्मका विद्यालय मात्रै छन्, त्यसपछिको पढाइका लागि अत्तरिया आउनुपर्छ, सामान्य ज्वरो आउँदा पनि २÷३ घण्टा पैदल हिँड्नुपर्ने अवस्था छ ।’ उनले फुलबस्तीमा आवश्यक भौतिक पूर्वाधारहरू निर्माण भएको भए पर्यटकहरूको आवागमन हुने वातावरण पनि बन्ने बताए ।
फुलवस्ती क्षेत्रका स्थानीयहरूको मुख्य पेसा कृषि हो । त्यहाँ बसोबास गर्ने प्राय सबै घरधुरीमा पशुपालन हुने गरेको छ । कृषि पेसा नै फुलबस्तीबासीको मुख्य आयस्रोत समेत हो । विकासका पूर्वाधारबाट वञ्चित रहेता पनि यो क्षेत्र सुन्दर दृश्य, स्वच्छ हावापानी र शान्त वातावरण रहेकाले पर्यटनका लागि लागी उपयुक्त मान्न सकिन्छ ।
नेपाल युवा परिषद्का सदस्य जय धामीले फुलबस्ती पर्यटनको सम्भावना बोकेको क्षेत्र रहेको बताए । फुलबस्तीका स्थानीय समेत रहेका उनले सो क्षेत्रमा होमस्टे निर्माण गरे त्यहाँको वातावरणले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत आकर्षित गर्न सक्ने बताए । उनले व्यवस्थित सडक सञ्जाल भए फुलबस्तीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने र त्यहाँको जनजीविका माथि उकास्न सकिने विश्वास व्यक्त गरे ।



















