अत्तरिया– कैलालीका सबै निर्वाचन क्षेत्रहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार जिल्लामा रहेका ५ वटा निर्वाचन क्षेत्रहरुमा कार्यालय स्थापना गरिएको हो । निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी राजेश चौधरीले शुक्रबार सबै निर्वाचन क्षेत्रहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताए ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी उपमहानगरपालिकामा रहेको स्वास्थ्य तालिम केन्द्रमा स्थापना गरिएको बताए । उनले निर्वाचनको मिति नजिकिदै गर्दा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कार्यालयहरु स्थापना गरिएको बताए । कार्यालय स्थापना भएसँगै अब निर्वाचनका लागि आवश्यक तयारीहरु पनि सुरु गरिने उनले बताए । जसमा मतदान स्थल, मतदान केन्द्र तथा निर्वाचनका कामकारबाहीहरु गरिने उनको भनाई छ ।


कैलालीमा कुल ५ लाख ५१ हजार ५२ मतदाता संख्या रहेका छन । जसमा महिला मतदाताको संख्या २ लाख ८० हजार २४३ रहेको छ भने पुरुष मतदाताको संख्या २ लाख ७० हजार ७९८ रहेको सूचना अधिकारी चौधरीले बताए । त्यसबाहेक ११ जना अन्य मतदाता रहेको उनले बताए । जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार ५ निर्वाचन क्षेत्र मध्ये सबैभन्दा बढी मतदाता संख्या निर्वाचन क्षेत्र नं. ४ मा रहेका छन भने सबै भन्दा कम निर्वाचन क्षेत्र नं. २ मा रहेका छन । निर्वाचन क्षेत्र नं. ४ मा १ लाख १५ हजार १४३ मतदाता संख्या रहेको सूचना अधिकारी चौधरीले बताए ।
सो क्षेत्रमा ५७ मतदान स्थल र १३६ मतदान केन्द्र रहेको उनको भनाई छ । सबै भन्दा कम मतदाता रहेको निर्वाचन क्षेत्र नं. २ मा १ लाख ७ हजार ७५७ मतदाता रहेको उनले बताए । उक्त क्षेत्रमा ५१ मतदान स्थल र १२४ मतदान केन्द्र रहेका छन । त्यस्तै निर्वाचन क्षेत्र नं. १ मा कुल १ लाख ८ हजार ४९१ मतदाता, ४५ मतदान स्थल र १२६ मतदान केन्द्र रहेको उनले बताए । निर्वाचन क्षेत्र नं. ३ मा १ लाख ९ हजार १२२ मतदाता, ४५ मतदान स्थल र १२७ मतदान केन्द्र रहेकामा निर्वाचन क्षेत्र नं. ५ मा १ लाख १० हजार ५३९ मतदाता, ३९ मतदान स्थल र १२८ मतदान केन्द्र रहेको उनले बताए ।
निर्वाचन आयोगले देशभरमा एकैदिन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदैछ । त्यस पूर्व सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी खटाउने कार्य निर्वाचन आयोगले गरेको हो । शुक्रबारबाट देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको आयोगले जनाएको छ ।
आयोगले प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृतहरू तोकिसकेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एउटा–एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी रहनेछ । उम्मेदवारी मनोनयनदेखि मतदान, मतगणना र निर्वाचनको नतिजा निकाल्नेसम्मको जिम्मेवारी निर्वाचन अधिकृतहरूको हुनेछ ।



















