अत्तरिया – किताबी ज्ञान र लब्धाङ्क पत्रमा उत्कृष्ट नम्बरले मात्रै जीवन यापन गर्न नसकिने कुरालाई मनन गरेको खप्तड विद्या निकेतन विद्यार्थीलाई आली देखि थालीसम्मका सीप सिकाउन अग्रसर छ । जहाँ विद्यार्थीहरुलाई खेतको आली खन्न, धान रोप्न देखि चुलोमा पकाउने, बजारीकरण गर्ने सम्मका सीप पढाई सँगसँगै सिकाइँदै आएको छ ।
कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको उक्त विद्यालयले विद्यार्थीको चौतर्फी विकास गर्न र विद्यार्थीहरूमा सबै कामको सम्मान गर्ने भावनाको विकास गर्न यस्ता अतिरिक्त क्रियाकलापलाई जोड दिँदै आएको छ ।
जसअनुसार असारमा करिब ५ कट्ठामा धान रोपाई गरेका विद्यार्थीहरूले शुक्रवार विद्यालयमा एक दर्जन बढी पकवान पकाएर उक्त परिकारको बजारीकरण पनि गरेका छन् । विद्यालयले फुड फेस्टिभल नाम दिएको उक्त कार्यक्रममा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले छुट्टा छुटै खानाका परिकार पकाएका थिए । जसमा पकौडा, पोटेको रोल, पुरी, सेल रोटी, कोदोको सेल लगायतका परिकार विद्यार्थीहरूले कपाएका थिए भने विद्यालयको हाताभित्रै पकाएका परिकारको बजारीकरण गर्नका लागि राखिएका स्टलमा बिक्री गरेका थिए ।

विद्यालयका शिक्षक भुवन भट्टले विद्यार्थीहरूले पकाउन जानेको मौलिक खाना पकाउन लगाइएको बताए । ‘विद्यार्थीहरूले जे कुरा जान्नुहुन्छ त्यो परिकार पकाउनको लागि हामीले फुड फेस्टिभल कार्यक्रम आयोजना गरेका हौ’ उनले भने ‘हामीले बच्चाहरूलाई पढाई मात्रै नभएर उनीहरूलाई अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न प्रकारको परिकारहरू पकाएर उनीहरूलाई दैनिक जीवनमा प्रयोग हुने सीप सिकाउन र सिक्नका लागि कार्यक्रम आयोजना गरिएको थियो ।’

उनले कार्यक्रममा विद्यार्थी मात्रै नभएर अभिभावक पनि सहभागी भएको बताए । उनले विद्यार्थीहरूले जानेका कुरा विद्यार्थीहरूलाई गर्न लगाएर विद्यार्थीको सीप निखार्न मदत पुग्ने बताए ।
शिक्षक गणेश मालीले पाक शिक्षा सिकाउनका लागि मेला कै रूपमा कार्यक्रम आयोजना गरिँदै आएको बताए । उनले मेलामा खप्तड रमाइको मेला, खप्तड पाक शिक्षा, खप्तड खुद्रा बजार सञ्चालन गरिएको बताए ।
‘यहाँबाट विद्यार्थीहरूले जीवन उपयोगी सीप, व्यवहारिक जीवनमा आवश्यक पर्ने सीप सिकाएका छौ’ उनले भने ‘यहाँ विद्यार्थीहरूले आफ्नै लगानीमा मौलिक परिकार पकाएर बजारीकरण गर्न सिकेका छन् ।’ उनले विद्यार्थीहरूको हौसलाका लागि उत्कृष्ट परिकार पकाउने विद्यार्थीलाई पुरस्कार पनि दिने गरिएको बताए ।
विद्यालयका सञ्चालक श्याम खत्रीले विद्यार्थीहरूको चौतर्फी विकासका लागि असारमा धान रोपाई गर्ने देखि लिएर फुड फेस्टिभलका कार्यक्रमलाई निरन्तर रूपमा सञ्चालन गरिँदै आएको बताए । कक्षा १२ सम्म अध्ययन हुने उक्त विद्यालयमा हाल करिब ९ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
















