खाेज्नुहाेस

सहकारीको परम्परागत साधारण सभा गर्ने शैलीमा ब्रेक

Image

अत्तरिया – मञ्च थियो तर, त्यहाँ न कोही प्रमुख अतिथि थिए, न पाहुना नै । अगाडी दर्शक कक्षमा पनि सबै सहकारीका सदस्य मात्रै । कार्यक्रम सञ्चालक भीम विक कार्यक्रम सुरु भएको घोषणा गर्छन्, राष्ट्रिय गान सँगै कार्यक्रमको शुभारम्भ गरेर सहकारीका विगतका गतिविधि र आगामी योजनाको बारेमा बहस सुरु हुन्छ ।

यो थियो शनिवार कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको गोदावरी कृषि सहकारी संस्थाको साधारण सभा सञ्चालनको रूपरेखा । विगतमा प्रमुख अतिथिमा मन्त्री, मेयर, उपमेयर, बोलाउने मञ्चमा राजनीतिक दलका नेता, समाजसेवी राख्ने र सबैलाई बोल्न पालो दिँदा दिँदै सकिन्थ्यो साधारण सभा । यसरी साधारण सभा गर्दा न सहकारीका गतिविधिका बारेमा बहस हुन्थ्यो न सहकारीमा आबद्ध सेयर सदस्यको कुरा सुन्ने समय हुन्थ्यो ।

attariya hospital

पुरानो परम्परागत परिपाटीलाई चिर्दै यस पटकको १४ औँ साधारण सभालाई भने पुरै सहकारीका सेयर सदस्य केन्द्रित बनाएर साधारण सभा गर्ने योजना कार्यसमितिले बनायो । ‘हामीले विगतमा मञ्चमा प्रमुख अतिथि, अतिथि बसाउने वहाँहरूलाई बोल्ने लगाउने । सेयर सदस्यले वहाहरुका कुरा सुनेर अन्तमा थोरै समय मात्रै प्रस्तावमा छलफल गरेर समापन गर्ने गरेका थियौ’ सहकारीका अध्यक्ष कृष्ण विकले भने ‘यो पटक हामीले पुरै कार्यक्रमको सेड्युल फरक गरेर साधारण सभा गरेका छौ । जहाँ सहकारीका गतिविधि र योजनाका बारेमा मात्रै सहकारीमा आबद्ध सेयर सदस्य बिच छलफल गराएका छौ ।’

उनले सहकारीका कार्यक्रम अतिथि स्वागत सत्कारमै केन्द्रित हुँदा मूल कुरा ओझेलमा पर्न थालेपछि यस्तो गरिएको बताए । ‘विगतमा साधारण सभामा बोलाउँदै आएका अतिथिहरू यस पटक बोलाएनन् भनेर रिसाउने हुन कि भन्ने चिन्ता त छ तर, यसरी साधारण सभा गर्दा पुरै समय भाषणमै सकिन थालेपछि हामीले यसलाई ब्रेक गर्ने जोखिम लिएका हौ’ उनले भने ‘यसरी साधारण सभा गर्दा सेयर सदस्य बढी सक्रिय भएका छन् । छलफलमा भाग लिएका छन् । जसले गर्दा आगामी दिनमा काम गर्न सहज हुन्छ ।’ उनले यसरी साधारण सभा गर्दा सार्थक छलफल नहुन थालेपछि यस पटक फरक तरिकाले साधारण सभा गरिएको बताए ।

साधारण सभामा अध्यक्षले प्रगति प्रतिवेदन र कोषाध्यक्ष र व्यवस्थापकले आर्थिक प्रतिवेदन प्रस्तुत गर्न मञ्च प्रयोग गरिए पनि बाकी समय पुरै सहकारीका सदस्यहरू सँग छलफल गरिएको थियो ।

navjiwan hospital

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विकले सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा कृषिका कार्यक्रम अन्तरगत एक समूह एक तरकारी खेती कार्यक्रम अन्तरगत ५ वटा समूहका ६६ जनाले तरकारी खेती गरेको, एक वर्षमा ३३३ गोठे मल खाल्डो सुधार गरिएको, खुर्सानी खेती कार्यक्रम अन्तरगत १५ जनाले ४५ कट्ठामा खुर्सानी खेती गरेको, ८ जना सेयर सदस्यलाई ५० प्रतिशत लागत साझेदारीमा ८ वटा मुर्रा जातको भैँसी वितरण गरेको, ५ जना एकल महिलालाई सत प्रतिशत अनुदानमा १५० बलका दरले च्याउ खेती गरेको, ५० प्रतिशत अनुदानमा १५ जना किसानलाई कागत खेती गरेको, बेमोसमी तरकारी खेती लगायतका कार्यक्रमहरू सञ्चालन गरेको बताए ।

यस्तै आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक गणेश विकले संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ५९ लाख ९७ हजार १४ रुपैयाँको कारोबार गरेको बताए । जसमा सहकारीले ९३ लाख १४ हजार ३ सय रुपैयाँ ऋण लगानी गरेको उनले बताए । सो अन्तरगत सहकारीले च्याउ खेती कार्यक्रम, भैँसी पालन कार्यक्रम, कागती खेती कार्यक्रम, खुर्सानी खेती कार्यक्रम सञ्चालन गरेको छ । जसमा ११ लाख १० हजार ६४० रुपैयाँ खर्च भएको व्यवस्थापक विकले बताए । जसका लागि सहकारीले विभिन्न सरकारी तथा गैर सरकारी निकाय सँग सहकार्य गरेर कार्यक्रम गरेको उनले बताए ।

प्रतिवेदन प्रस्तुत गरेपछि करिब ३ घण्टा चलेको छलफलमा सुरुमा अध्यक्ष लगायत व्यवस्थापन टिमले सहभागीका गुनासा टिपोट गरेका थिए । जसको जवाफ अध्यक्ष र संस्थापक अध्यक्ष टेक विकले दिएपछि पुनः आगामी योजनाका प्रस्तावमा एक एक गरेर छलफल गरिएको थियो ।

सहभागीहरूले साची बसेकालाई ऋण दिनुपर्ने, ऋण रकम बढाउनु पर्ने, लघुवित्त सरह रकम दिनुपर्ने, तालिममा सबैलाई जानकारी दिनुपर्ने, लगायतका गुनासा राखेका थिए ।

छलफलबाट आगामी चालु आर्थिक वर्षमा पनि एक समूह एक तरकारी खेती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सस्तो कृषि सामग्री पसल सञ्चालन गर्ने, गोठे मल खाल्डो सुधार अभियानलाई निरन्तरता दिने, सहकारी सदस्य वृद्धिका लागि एक सदस्यले एक सदस्य वृद्धि गर्ने, सेयर वृद्धिलाई प्राथमिकतामा राख्ने, गहना बचत अनिवार्य गर्ने योजना पारित गरिएको थियो । यस्तै बाख्रा पालन पकेट क्षेत्रका रूपमा विकास गर्ने, हाम्रो सहकारीका हामी उद्यमी कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्ने, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने लगायतका योजना पारित गरिएका थिए ।

अधिकांश दलित शेयर सदस्य रहेको उक्त सहकारी मासिक १५ रुपैयाँ बचत गर्दै स्थापना गरिएको दलित विकास सेवा केन्द्रलाई २०६९ सालमा सहकारीका रूपमा स्थापना गरिएको थियो । हाल सहकारीमा ८९८ महिला र ७६ जना पुरुष गरी ९७५ सेयर सदस्य रहेका छन् ।