खाेज्नुहाेस

गोदावरीमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कक्ष स्थापन गरिँदै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कक्ष स्थापना गरिँदै छ । नगरपालिकाका ५ वटा अस्पताल, स्वास्थ्य चौकीहरूमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कक्ष स्थापना गर्न लागिएको हो । गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले नगरपालिका अन्तरगत ५ वटा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कक्ष स्थापनाका लागि सूचीकृत गरिएको बताए ।

उनले यसको मुख्य उद्देश्य किशोर किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी दिने रहेको बताए । उनले यस्ता कक्षमा किशोर किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धीका सामाग्री उपलब्ध हुने बताए । ‘किशोर किशोरीहरूले स्वास्थ्य संस्थामा आएर स्वास्थ्यकर्मी सँग खुलेर यौन तथा प्रजनन स्वास्थ्यका बारेमा अलि अप्ठ्यारो मान्छन्’ उनले भने ‘त्यसैले वहाँहरूको मनमा आउने जिज्ञासा पुरा गर्नको लागि त्यससम्बन्धी ज्ञान दिन कक्ष स्थापना गरिएको हो ।’

attariya hospital
navjiwan hospital

उनले यस्ता कक्षमा किशोर किशोरीहरू कार्यालय समय बाहेक पनि आवश्यक सामग्री पढ्न सक्ने बताए । ‘यो विशेष गरेर किशोर किशोरीहरूमा प्रजनन स्वास्थ्य सँग सम्बन्धित, यौन सँग सम्बन्धित समस्याहरू पनि देखिने गरेको छ । त्यो कुरामा किशोर किशोरीहरूले कार्यालय समय भन्दा पनि बाहेकको समयमा पनि किशोर किशोरी मैत्री कक्षमा आएर त्यसको बारेमा जानकारी र सेवा लिन सक्छन्’ उनले भने ‘केन्द्रमा पढेर ज्ञान लिने सँगै परिवार नियोजनको साधनहरू पनि उपलब्ध हुनेछन् । विवाह गरेका किशोरीहरू छन् भने उनीहरूको लागि लामो समयको परिवार नियोजनको साधन उपलब्ध गराउन सकिनेछ ।’ गोदावरीका ५ स्थानमा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा केन्द्र सूचीकृत भएको बताउँदै उनले केही दिनमा यसको सञ्चालन गरिने बताए ।

किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कक्ष गोदावरीको गेटा, बहेहा, बेलादेविपुर, मालाखेती र ओलानीमा सञ्चालन गर्ने तयारी गरिएको छ । केन्द्रमा स्वअध्ययन गर्ने भएकाले नियमित काम गर्ने जनशक्ति भने नराखिने स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । उनले आवश्यक परेमा स्वास्थ्य संस्थामा भएका नर्सहरू सँग सेवा ग्राहीले कुरा गर्न सक्ने बताए ।

किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा कक्ष १० देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीहरूलाई लक्षित गरी स्थापना गरिएको विशेष स्वास्थ्य सेवा हो ।
यसले उनीहरूको गोपनीयता कायम राख्दै यौन तथा प्रजनन स्वास्थ्य, मानसिक परामर्श, र पोषण सम्बन्धी सेवाहरू प्रदान गर्दछ । नेपाल सरकार र विभिन्न स्थानीय अस्पतालहरूले किशोर–किशोरीहरूका लागि यस्ता सेवाहरू विस्तार गरिरहेका छन् ।