कञ्चनपुर– कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदी ९ महिनापछि पक्राउ परेका छन् । विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुई कैदीबन्दीलाई प्रहरीले ९ महिनापछि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ बाणीका मदन चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका अर्जुन खड्का रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी वीरेन्द सिँह थापाका अनुसार पक्राउ परेका चौधरी जबर्जस्ती करणी कसुर मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए भने खड्का लागुऔषध (खैरो हेरोइन) मुद्दामा पाँच वर्ष कैद तथा रु पाँच हजार जरिवाना सजाय तोकिएका व्यक्ति हुन् ।
दुवै कैदीबन्दी २०८२ भदौ २४ गते कारागारबाट भागेको प्रहरीले बताएको छ ।

















