अत्तरिया– कैलालीको अत्तरियामा करियर स्टेशन पिएफए भेट्रान्स कप जारी छ । यही पुष १५ गतेदेखी सुरु भएको प्रतियोगिताको सातौँ संस्करण अन्तरगत शनिबार पाचौँ दिनका खेलहरु सकिएका छन ।
पाँचौ दिनसम्म आईपुग्दा प्रतियोगितामा ३ खेलमा ३ जित निकालेर ६ अंकका साथ गेटा रोयल्स अंक तालिकाको शिर्ष स्थानमा छ । त्यस्तै ३ खेलमा २ जित सहित ४ अंकका साथ कैनोडा लायन्स दोस्रो स्थानमा हुँदा २ खेलमा २ जित सहित ४ अंकका साथ अनुपमा अलराउन्डर्स तेस्रो र ३ खेलमा २ जित सहित ४ अंकका साथ अत्तरिया सिटी अंक तालिकाको चौथो स्थानमा छ । समान अंक भएपनि अनुपमा भन्दा रनरेट राम्रो भएका कारण कैनोडा दोस्रो स्थानमा पुग्न सफल भएको हो भने अत्तरिया सिटी भन्दा राम्रो रनरेट हुँदा अनुपमा अलराउन्डर्स तेस्रो स्थानमा पुगेको हो ।

त्यस्तै २ खेलमा १ जित निकाल्दै २ अंक सहित बुढा बाग अंकतालिमको पाँचौ स्थानमा रहेको छ । प्रतियोगितामा पाँचौ दिनसम्म आईपुग्दा न्यू ग्वासी सहारा क्यापिटल्स २ खेलमा दुवै खेल हारेर छैटौ स्थानमा, समान खेल खेलेर हारेको गुलरिया बुल्स सातौ स्थानमा र ३ खेल खेलेर ३ ओटै खेल हारेको महेन्द्रनगर ब्वाईज अन्तिममा रहेको छ । न्यू ग्वासी सहारा क्यापिटल्स, गुलरिया बुल्स र महेन्द्रनगर ब्वाईजले अंक बटुल्न सकेका छैनन् ।
शनिबारका खेलमा गेटा र अत्तरिया विजयी

प्रतियोगिता अन्तरगत शनिबार दुई ओटा खेलहरु सम्पन्न भएका हुन । जसमा पहिलो खेल न्यू ग्वासी सहारा क्यापिटल्स र गेटा रोयल्स बिच भएको थियो भने दोस्रो खेल बुढा बाग र अत्तरिया सिटी बिच भएको थियो । पहिलो खेलमा गेटा रोयल्सले न्यू ग्वासी सहारा क्यापिटल्सलाई ३४ रनले पराजित ग-यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको गेटा रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो । गेटाका ब्याट्सम्यान निरज चन्दले ४९, हरिश कार्किले २४ र विपिन चन्दले २१ रनको योगदान दिए । बलिङमा न्यू ग्वासी सहाराका खेलाडी देवराज पनेरु र प्रदिप तिवारीले ३/३ विकेट लिए ।
१२७ रनको सामान्य लक्ष्य पछ्याउन मैदान उत्रिएको न्यू ग्वासी सहारा १७ दशमलव १ ओभरमा ९२ रुनमा अलआउट भयो । उसका लागि कप्तान अरुण प्रसाद भण्डारीले ३८ रनको योगदान दिएपनि त्यो पर्याप्त भएन । त्यस्तै सुदन भट्टले १० रन बनाएपनि अन्य कुनै पनि ब्याट्सम्यानले दुई अंकमा रन बनाउन सकेनन् । सामान्य स्कोरमा पनि टिमलाई जिताउन बलिङमा गेटाका विपिन चन्द, नरेन्द्र चन्द, भोज बहादुर चन्द र हरिहर पन्तले समान २/२ विकेट लिए ।
यस्तै शनिबारको दोस्रो खेलमा बुढा बागलाई अत्तरिया सिटीले ४ विकेटले पराजित ग-यो । टस जितेर ब्याटिङ रोजेको बुढा बागले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । उसका लागि नरेन्द्र नाथले सर्वाधिक ३१ रनको योगदान दिए । बलिङमा अत्तरिया सिटीका सुरेश खड्का र युनिल श्रेष्ठले समान ३/३ विकेट लिए भने भरत केसीले २ विकेट लिए ।
९९ रनको झिनो लक्ष्य पछ्याएको अत्तरिया सिटी १६ ओभरमा ६ विकेट गुमाएर विजयी भयो । उसका लागि सुरेश खड्काले अविजित ४१ रनको योगदान दिए । बलिङमा बुढा बागका जगदिश जोशी, प्रेम भण्डारी र भरत जोशीले समान २/२ विकेट लिए ।





















