अत्तरिया – कैलालीको गोदावरीमा एआई एक्सरेद्धारा क्षयरोगको स्क्रिनिङ्ग गरिएको छ । स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले स्क्रिनिङ्ग शिविर आयोजना गरेको हो ।
क्षयरोग मुक्त अभियान अन्तरगत समुदायमा सक्रिय क्षयरोगी खोजपड्ताल गर्न शिविर आयोजना गरिएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी विर बहादुर कुँवरले जानकारी दिए । उनले नगरका तिन वटा स्वास्थ्य केन्द्रहरुमा शिविरको आयोजना गरिएको बताए । उनका अनुसार गोदावरी नगरपालिका– २ तेघरीमा रहेको आधारभुत स्वास्थ्य केन्द्र, वडा नं. ४ फुलबस्तीमा रहेको आधारभुत स्वास्थ्य केन्द्र र वडा नं. ७ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा शिविर आयोजना गरिएको हो ।


उनले नगरभित्रका महिला स्वयम् सेविकाहरुमार्फत केही लक्षण देखिएका व्यक्तिहरुलाई मात्रै शिविरमा बोलाईएको बताए । ‘निःशूल्क शिविर आयोजना गर्दा स्वास्थ्य मानिसहरु समेत चेकजाँचका लागि आउँछन, जसले गर्दा विरामी व्यक्तिहरुले पालो पाईरहेको अवस्था हुदैन’ उनले भने ‘त्यसैले यसपटक हामीले नगरभित्र रहेका स्वास्थ्य स्वयम्सेविकाहरु मार्फत लक्षण देखिएका शंकास्पद व्यक्तिहरुलाई शिविरमा ल्याउन भनेका थियौँ, सोही अनुसारका व्यक्तिहरुमा मात्रै चेकजाँच भएको हो ।’
नगरका तीन ओटा आधारभुत स्वास्थ्य केन्द्रहरुमा गरिएको शिविरमा कुल ४६२ जनाको छातीको एक्सरे गरिएको उनले बताए । जसमध्ये ६१ जना शंकास्पद व्यक्तिहरुको थप चेकजाँचका लागि खकारको नमुना संकलन गरिएको उनले बताए ।
उनका अनुसार वडा नं. ४ फुलबस्तीमा रहेको स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा ५८ जनाको एक्सरे गरिएकोमा ११ जनाको खकार संकलन गरिएको थियो । त्यस्तै वडा नं. ७ जमुनानगरमा रहेको स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा २६२ जनाको छातीको एक्सरे गरिएकोमा ३४ जनाको खकारको नमुना संकलन गरिएको उनले बताए । वडा नं. २ तेघरीको स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा १७२ जनाको एक्सरे गरिएकोमा १६ जना बढी शंकास्पद व्यक्तिको खकारको नमुना संकलन गरिएको उनको भनाई छ ।
‘हामीले ३ वटा स्वास्थ्य केन्द्रमा कुल ४६२ जनाको एआई जडित एक्सरे मेसिनबाट छातीको एक्सरे गरेका थियौँ’ उनले भने ‘त्यसमध्ये बढी शंकास्पद देखिएका ६१ जनाको खकारको नमुना संकलन गरेर जाँचका लागि मालाखेती अस्पताल पठाएका हौँ ।’
उनले एआई जडित एक्सरेद्धारा क्षयरोग शंका भएकाहरुको मात्रै खकारको नमुना संकलन गरिएको बताए । संकलन गरीएका खकारका नमुनाहरु अन्तिम परिक्षणका लागी मालाखेती अस्पतामा जिन एक्सपर्टका लागी पठाईएको बताउदै उनले परिक्षण सम्पन्न भएका २ जनामा क्षयरोग निदान भैसकेको र अन्यको परिक्षणको प्रकृयामा रहेको जानकारी दिए ।

















