अत्तरिया – कैलालीको अत्तरियामा नेपाल कम्युनिस्ट पार्टीको नगर स्तरीय एकता सन्देश सभा आयोजना गरिएको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलको प्रमुख अतिथ्यतामा नगर स्तरीय नगर सभा आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै उनले केपी ओलीको दम्भ, घमन्डका कारण देश खरानी भएको बताए । उनले ओलीले भदौ २३ गतेको आन्दोलनमा जेनजी मारिएपछि पनि देखाएको दम्भ घमन्डका कारण देश खरानी बनेको बताए ।
‘तत्कालीन ७ पार्टीको सरकारले युवाहरूको कुरा सुनेन उल्टै अन्धाधुन्ध गोली चलायो । कयौँ आमाका कोख रित्तिए’ उनले भने ‘हामीले त्यसै बेला युवाहरूमाथि चलाएको गोली गलत छ भनेका थियौ । तर, ओलीजीले नेतृत्व गरेको सरकारले सुनेन ।’ उनले २३ गते ओली सरकारको निरङ्कुश चरित्र देखिएपछि देशव्यापी रूपमा आक्रोश फैलिएको बताए । उनले सरकारको काम सिमानाको रक्षा गर्नु, जनताको सुरक्षा गर्नु भए पनि प्रधानमन्त्री हेलिकोप्टर चढेर भागेको बताए ।

उनले यसअघि पनि बनाएको नेपाल कम्युनिस्ट पार्टी केपी ओलीले संविधान सभा विगठन गरेपछि पार्टी नै खरानी भएको बताए । उनले देशका दुई ठुला दलको अपवित्र गठबन्धनको सरकार तत्कालीन सरकार पनि खरानी बनाएको बताए । उनले पार्टी, सरकार खरानी बनाएर केपी ओलीले देश नै खरानी बनाएको बताए ।
उनले सुदूरपश्चिमका ठुला योजना आफ्नो कार्यकालमा सुरु भएको बताए । उनले आफू गृहमन्त्री हुँदा सुदूरपश्चिमले पहिलो पटक १४ प्रतिशत बजेट पाएको बताउँदै सोही समयमा रानी जमरा कुलरीया सिचाइ आयोजना, सेती लोक मार्ग, सेती जलविद्युत आयोजना सुरु गरिएको बताए ।


कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका नेता कृष्ण राज सुवेदीले गोदावरीमा नेपाल कम्युनिस्ट पार्टी सबैभन्दा ठुलो दल बन्ने बताए । उनले अहिले एमाले काँग्रेस पतन भएको बताउँदै गोदावरीमा अब नेपाल कम्युनिस्ट पार्टी एक नम्बर पार्टी बन्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीकी नेतृ चुन कुमारी चौधरीले आफूहरू अब भ्रष्टाचार विरुद्ध लड्ने बताइन । उनले आफूले आफ्नो कार्यकालको ५ वर्ष कुनै पनि भ्रष्टाचार नगरेको बताउँदै अब नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिममा एक नम्बरको पार्टी बन्न कसैले रोक्न नसक्ने बताइन । नगर सभामा तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले सम्बोधन गरेका थिए ।
तत्कालीन नेकपा माओवादी केन्द्रका गोदावरी नगर इन्चार्ज धर्म सिंह कुवरको अध्यक्षतामा भएको सभाको भीष्म सुवेदीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरेर नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका ६ जनालाई कार्यक्रमका प्रमुख अतिथि रहेका रावलले टिका माला लगाएर स्वागत गरेका थिए ।

















