खाेज्नुहाेस

कडा प्रावधानका कारण उपकुलपति पाउन मुस्किल

Image

अत्तरिया – कैलालीको गेटा स्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई उपकुलपति पाउन मुस्किल परेको छ । निकै लामो रस्साकस्सी पछि विश्वविद्यालय कार्यान्वयनको बाटोमा अघि बढेको भए पनि हाल विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पर्ने मुख्य कार्यकारी पदको रूपमा रहेको उपकुलपति पाउन मुस्किल परेको हो ।

असोज २८ गते उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अगाडि बढाउन विश्वविद्यालय सभाको बैठकले सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले ६० दिन भित्र उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गर्नुपर्ने प्रावधान विश्वविद्यालय ऐनमै भए पनि २ पटक विज्ञापन आह्वान गर्दा पनि एक जनाको पनि उपकुलपतिका लागि आवेदन परेको छैन । ऐन अनुसार ६० दिनको समय सीमा सकिन लाग्दा आगामी दिनमा के गर्ने भन्ने अन्योल सृजना भएको छ ।

attariya hospital

विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि सिफारिस समितिले १५ कात्तिक १५ गते १५ दिनको अवधि राख्दै आवेदन माग गरेको थियो । तर, उपकुलपतिका लागि आवेदन नपरेपछि मंसिर ५ गते सम्म म्याद थप गरिएको थियो ।

सिफारिस समितिले खोलेको विज्ञापनमा रजिस्ट्रार पदका लागि भने १० जनाको आवेदन परेको थियो । तर, उपकुलपतिका लागि भने कसैको आवेदन परेन । विश्वविद्यालय सभाका सदस्य डा. डम्बर बहादुर पालले उपकुलपतिका लागि राखिएका कडा प्रावधानले गर्दा आवेदन नपरेको हुन सक्ने बताए । उनले उमेर हद र अनुभवको मापदण्ड कडा भएको बताए ।

navjiwan hospital

विश्वविद्यालय ऐनमा उपकुलपतिका लागि शिक्षा सम्बन्धी कुनै विधामा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरह उपाधि प्राप्त गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । त्यस्तै यस्तो व्यक्ति कुनै विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने, ३५ वर्ष पुरा भएर ६१ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ । यस्तो व्यक्ति दरखास्त दिनु अघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने पनि मापदण्ड राखिएको छ । उमेर हदसँगै कार्य अनुभवको कडा प्रावधानका कारण आवेदन नपरेको हुन सक्ने विश्वविद्यालय सभा सदस्य पालले बताए ।

सिफारिस समितिका संयोजक प्रा.डा. जयराज अवस्थीले अहिलेकै मापदण्डअनुसार उपकुलपति पाउन गाह्रो भएकोले अध्यादेशमार्फत भए पनि ऐन संशोधन गर्नुपर्ने बताए । उनले विद्यावारिधि र डीएम गरेका अधिकांश व्यक्ति ६१ वर्षमाथिका हुने भएकाले त्यो उमेर भन्दा कम भएकाहरूबाट आवेदन माग गर्दा नपरेको हुन सक्ने बताए ।

ऐनअनुसार बनाइएको कार्यविधिलाई टेकेर उपकुलपतिमा आवेदन माग गरिएको बताउँदै संयोजक अवस्थीले थपिएको म्यादमा पनि आवेदन नपरेपछि ऐन नै संशोधन गर्नुपर्ने अवस्था देखिएको बताए ।

विश्वविद्यालयको रजिस्ट्रारका लागि भने १० जनाको आवेदन स्वीकृत भइसकेको छ । तीन जनालाई रजिस्ट्रार नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिने समितिका संयोजक अवस्थीले बताए ।

रजिस्ट्रारका लागि आवेदन दिनेमा ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबल बहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्दसिंह विष्ट, बाराकी शिला मैनाली, बैतडीका भीमबहादुर चन्द र कैलालीका पदमराज जोशी रहेका छन् । उनीहरूको यसै साता प्रस्तुतीकरण र अन्तर्वार्ता लिने तयारी समितिले गरेको छ ।