खाेज्नुहाेस

कैलालीमा युरिया मलका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता

Image

धनगढी – सुदूरपश्चिममा यतिबेला युरिया मलको चरम अभाव भएपछि किसानहरू हैरान छन्। कैलालीको भजनी, कैलारी लगायतका क्षेत्रका किसानहरूले कतै रातभर जाग्राम बसेर पनि र कतै चिठ्ठा प्रक्रियाद्वारा पनि युरिया मल पाउन सकेका छैनन्।

भजनी नगरपालिकाका-९ सोनाफाँटाका राजाराम चौधरी परिवारका चार जना सदस्यहरू सोमबार भजनी-१ भजनीमा रहेको साना किसान सहकारीमा युरिया मलका लागि गए। तर उनीहरूले रातभर लाइनमा बसेर मंगलबारसम्म पनि मल पाउन सकेनन्।

attariya hospital

भजनीका करिब चार सय किसानहरू युरिया मलका लागि लाइन बसेका थिए। तर कसैले पनि पाएनन्। राजाराम चौधरीले भने, ‘करिब २० बिघामा गहुँ खेती गरेको छु, मल चाहिने बेला नपाएर हैरान भएका छौं। त्यो दिन रित्त हात फर्कियौं। कहिले पाउँछ ठेगानै छैन।’

सोनाफाटाबाट मात्रै १३ परिवार युरिया मलका लागि भजनी पुगेका थिए, तर कसैले पनि नपाएको दुखेसो उनले बताए। सहकारीले तीन सय बोरा युरिया आएको छ, वितरण हुन्छ भनेर सूचना गरेको थियो। त्यही सूचनाका आधारमा मलका लागि करिब सात सय जना लाइनमा पुगे। तर लाइन बस्नेहरू बीच नै झडप हुने अवस्था उत्पन्न हुन थाल्यो। त्यसपछि वितरण गर्न नपुग्ने भन्दै सहकारीले मल दिन नसकिने भन्यो। त्यसपछि किसानहरू रित्तै फर्किए।

साना किसान सहकारीका व्यवस्थापक वसन्ती चौधरीले पनि सहकारीसँग रहेको मौज्दात रहेको युरिया मलभन्दा लाइन लाग्नेहरूको संख्या दोब्बर बढी भएकाले वितरण गर्न नसकिएको बताइन्। ‘हामीलाई कृषि सामग्री कम्पनी लिमिटेडले तीन सय आठ बोरा युरिया उपलब्ध गराएको थियो, तर लाइन लाग्नेहरूको संख्या करिब सात सय नाघ्यो। त्यसपछि वितरण गर्न सकेनौं। अब अर्को कृषि सामग्रीले अर्को लट लिएपछि वितरण गर्ने उनको भनाइ छ।

कैलारी गाउँपालिकामा पनि त्यही अवस्था छ। हसुलियास्थित कालिका कृषि सहकारी लिमिटेडमा सोमबार युरिया मलका लागि लागेको लाइन र सहकारीमा मौज्दात रहेको मलको सन्तुलन नमिल्दा तनाव भयो। ‘१ सय ५० बोरा मात्र युरिया मल आएको थियो। मल माग गर्नेहरूको संख्या चार सय भन्दा बढी पुग्यो। त्यसपछि सेयर सदस्यलाई मात्र दिने निर्णय गर्‍यौं, त्यो संख्या पनि धेरै भयो,’ सहकारीका अध्यक्ष तिलक बोहराले भने, ‘त्यसपछि सेयर सदस्यहरूबीच पनि चिठ्ठा हालेर एक बोरा लिने निर्णय गर्‍यौं।’ केही दिनपछि थप मल दिने भनेकाले थप मल आएपछिमात्र मल वितरण गरिने उनले बताइन्।

navjiwan hospital

सरकारी अनुदानको मल बिक्री गर्ने भजनीकै अन्य दुई पसलमा पनि सोमबार रातभर किसान लाइनमा बसे। ती दुई ठाउँमा पनि मल सकिएपछि कतिपय किसान रित्तै फर्किएका थिए। भजनी नगरपालिकाको कृषि शाखाका अनुसार यो सिजनमा ४३ हजार क्विन्टल युरिया आवश्यक पर्ने भए पनि बुधबारसम्म हालसम्म साढे सात हजार क्विन्टलमात्र युरिया मल आएको छ।

विगतका वर्षमा भारतीय सीमा क्षेत्रबाट किसानहरूले अवैध रूपमा साइकलमा मल ल्याएर काम चलाउने गरेका थिए। तर यतिबेला भारतीय सीमा बजारमा मल उपलब्ध नभएको स्थानीय किसानहरूले बताएका छन्।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले कैलालीका लागि हालसम्म ७ सय ४३ मेट्रिक टन युरिया मौज्दात रहेको बताए। हरेक स्थानीय तहमा सहकारी र फर्महरूलाई अधिकृत विक्रेताका रूपमा मल उपलब्ध गराउने गरेको उनले बताए। ‘कैलालीमा सबैभन्दा धेरै भजनी र कैलारी नगरपालिकाले मल पाउँछ। भजनीका १७ वटा सहकारी र फर्महरू हाम्रो अधिकृत विक्रेता हुन्,’ प्रमुख बोगटीले भने। एउटा सहकारीलाई ३ सय ४ बोरा उपलब्ध गर्ने गरेका छौं।” अब आइतबारसम्म अर्को लट वितरण गर्ने तयारी रहेको बोगटीले बताए।

गहुँ, तोरी, मसुरो लगायत खाद्य, दलहन तथा तेलहन बाली र आलुलगायत मुख्य तरकारी बाली लगाउने बेला युरिया मलको आवश्यकता हुन्छ। सुदूरपश्चिममा मलखाद आपूर्ति तथा विक्री वितरण गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड हुन्। सुदूरपश्चिमले पाउने मलखादको कोटामा ३० प्रतिशत साल्ट ट्रेडिङ र ७० प्रतिशत कृषि सामग्रीले प्राप्त गरेर विक्री गर्ने गरेका छन्।

साल्ट ट्रेडिङ र कृषि सामग्रीले किसानहरूलाई सिधै विक्री गर्दैनन्। उनीहरूले निजी क्षेत्रका व्यापारी तथा सहकारीहरूलाई कोटा निर्धारण गरेर मलखाद विक्री गर्ने गरेका छन् । कृषि सामग्रीले उपलब्ध गराएपछि डिलरहरूबाट किसानहरूले मल किन्न पाउने व्यवस्था छ।

यसरी डिलर तोक्दा सम्बन्धित स्थानीय तहको सिफारिसमा एउटा वडामा कम्तीमा दुई वटा विक्रेता निर्धारण गर्ने गरेको कार्यालय प्रमुख बोगटी बताउँछन्। ‘कैलाली जिल्लाभर करिब चार सय डिलर तोकेका छौं,’ उनले भने, ‘धनगढीमा ४७ वटा बिक्रेता निर्धारण गरेका छौं।’ एउटा विक्रेतालाई उपलब्ध गराइने मलको परिमाण भने यकिन नहुने बोगटी बताउँछन्।

– कान्तिपुरबाट