खाेज्नुहाेस

चुनावी सुरक्षाका लागि प्रदेश सरकार कटिबद्ध छ : मुख्यमन्त्री शाह

Image

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चुनावी सुरक्षाका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन । मंगलबार धनगढीमा आयोजित उच्चस्तरिय सुरक्षा गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन ।

उनले निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । शाहले संघीय सरकारसँग सहकार्य गर्दै अघि बढ्न प्रदेश सरकार सधैं तत्पर रहेको बताए । ‘मुलुकलाई चुनावी माहोलमा लैजाने क्रममा जनताको इच्छा, आकांक्षा र विश्वासलाई केन्द्रमा राख्नुपर्छ । संघीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्दा तीनै तहबीचको समन्वय र सहकार्य अझ प्रभावकारी हुन्छ,’ उनले भने ।

attariya hospital
navjiwan hospital

मुख्यमन्त्री शाहले नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न र उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गरे । सुरक्षा निकायलाई अझ सक्षम र प्रभावकारी बनाउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो ।

गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रुपमा गोष्ठीको आयोजना गरेका हुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेशको शान्ती सुरक्षा केन्द्रमा राखेर उच्चस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारी र रणनीतिका विषयमा केन्द्रित यो गोष्ठीमा संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रमुख सुरक्षा अंगका प्रमुखहरूको उपस्थिति रहेको छ ।

गोष्ठीका लागि गृहमन्त्री अर्याल सोमबार नै धनगढी पुगेका थिए भने उनिसँगै गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि गोष्ठीमा सहभागी छन् ।