अत्तरिया – कैलालीको गोदावरीमा आजदेखि १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी नमुना माविमा प्रतियोगिताको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले सौहार्दपूर्ण वातावरणमा प्रतियोगिता सञ्चालन गर्नका लागि आग्रह गरे । उनले प्रतियोगिताका दौरान आवश्यक सहयोगका लागि नगरपालिका तत्पर रहेको बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख शारदा देवी रोकायाले विद्यार्थीका लागि शिक्षा सँगै खेलकुद आवश्यक रहेको बताइन । उनले खेलकुदका माध्यमबाट आजका विद्यार्थीले भोली देखिको नाम राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सक्ने बताइन् ।

प्रतियोगितामा गोदावरी नगरपालिकाका २२ वटा सामुदायिक र २१ वटा संस्थागत विद्यालय सहभागी रहेका छन् । मंसिर १८ गते सम्म सञ्चालन हुने प्रतियोगिता अन्तरगत भलिबल, कबड्डी, एथलेटिक्स, दौड, उफ्रने र फ्याँक्ने (हाई जम्प, लङ जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो), मार्सल आर्ट (कराँते, तेक्वान्दो, उसु) खेल खेलाइने जनाइएको छ । प्रतियोगिता दुर्गालक्ष्मी नमुना मावि र चौकिडाडाको खेल मैदानमा सञ्चालन गरिने जनाइएको छ ।

१६ शिक्षक सम्मानित
यसैबिच नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा नगरप्रमुख वीरेन्द्र भट्टले १६ जना शिक्षकलाई सम्मानित गरेका छन । कक्षा ८ को नतिजाका आधारमा गोदावरीका सामुदायिक र संस्थागत विद्यालयका विषयगत शिक्षक सम्मानित भएका हुन । सम्मानित हुनेमा केशरी भट्ट (नेपाली शिक्षक) लक्ष्मी माध्यमिक विद्यालय, बम बहादुर कडायत (सामाजिक शिक्षक) लक्ष्मी माध्यमिक विद्यालय, सिद्धराज जोशी (विज्ञान तथा प्रविधि शिक्षक) लक्ष्मी माध्यमिक विद्यालय, जानुका भट्ट (स्वास्थ्य शिक्षक) घण्टेश्वर माध्यमिक विद्यालय, जयन्ती अवस्थी (हाम्रो गोदावरी शिक्षक) घण्टेश्वर माध्यमिक विद्यालय, युवराज जोशी (गणित शिक्षक) घण्टेश्वर माध्यमिक विद्यालय र वीरेन्द्र प्रसाद भट्ट (अंग्रेजी शिक्षक) घण्टेश्वर माध्यमिक विद्यालय रहेका छन ।
यस्तै संस्थागत तर्फ हर्क बहादुर बोहरा, नरेन्द्र बहादुर ऐरी, सन्तोष चौधरी, राजेन्द्र विष्ट, सन्तोष कुमार चौधरी, खगेन्द्र प्रसाद कलौनी, यजराज भट्ट, सञ्जना भण्डारी र दल बहादुर खड्का सम्मानित भएका छन ।





















