धनगढी – चिसो बढ्दै गएको अवस्थामा “खान पुगोस्, दिन पुगोस्” अभियान नेपालले न्यानो कपडा वितरण कार्यक्रम पुनः सुरु गरेको छ।
अभियानका संयोजक घनश्याम भट्टका अनुसार कार्यक्रमको पहिलो चरण यस वर्ष पनि धनगढीस्थित निङ्गलासैनिक गुरुकुल संस्कृत विद्यापिठबाट प्रारम्भ गरिएको हो।

अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा अभियान नेपालले उक्त विद्यापिठका आश्रित बालबालिकालाई ट्र्याकसुट, टी–सर्ट, ब्लाङ्केट तथा खिर भोजन वितरण गरेर वार्षिकोत्सव मनाएको थियो।

संयोजक भट्टका अनुसार सुदूरपश्चिम प्रदेशका गरिब, विपन्न, टुहुरा तथा अशक्त परिवारहरूलाई लक्षित गरी यो वर्ष पनि सहयोग कार्यक्रम निरन्तर सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
गत वर्ष अभियान अन्तर्गत धनगढी, डडेल्धुरा, बैतडी लगायतका जिल्लाका विद्यालय, आश्रम र विपन्न परिवार गरी १५ सयभन्दा बढी व्यक्तिलाई न्यानो लुगा तथा खाद्यान्न वितरण गरिएको अभियानले जनाएको छ।
समाजमा सेवाभावसंगै सकारात्मक सोच र संस्कृतिको जगेर्ना गर्न अभियानले महत्वपूर्ण भूमिका खेल्ने अभियानका संयोजक घनश्याम भट्टले बताए ।



















