अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको अत्तरिया श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बिच संस्थाको १३औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष लक्ष्मी कुमारी बोहराको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सांसद तुलसी देवकोटा रहेकी थिईन । कार्यक्रममा बोल्दै सांसद देवकोटाले सहकारीलाई लामो मेहनत र प्रयासले स्थापना गरिएको बताईन । उनले श्रमिकहरुका लागि खोलिएको सहकारीले विस्तारै फड्को मारिरहेको देख्दा आफू हर्षित भएको बताईन । उनले श्रमिकहरुले विशुद्ध रुपमा आफ्नो हकहित र सुरक्षाको लागि स्थापना गरेको बताईन ।


उनले सहकारीमा श्रम गरेर बिहान बेलुका छाक टार्ने श्रमिकहरुका लागि सहकारी फलदायी सावित हुने विस्वास लिएको बताईन । उनले सहकारीका ऐन विनियम र कानुनहरुलाई अध्ययन गरेर अगाडी बढे सहज हुने बताईन । देवकोटाले सहकारीबाट लगेको ऋण समयमै नतिरे सहकारी नै समस्यामा पर्न जाने भएकाले सहकारीमा आवद्ध शेयरसदस्यहरुले समयमै सहकारीको ऋण तिर्नूपर्ने बताईन ।

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाकी अध्यक्ष बोहराले प्रस्तुत गरेकी थिईन भने आर्थिक तथा लेखा परिक्षण प्रतिवेदन संस्थाका लेखापाल अशोक बि.क ले प्रस्तुत गरेका थिए । प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त सम्म कुल १ करोड ६० लाख ६२ हजार ७५७ रुपैयाको कारोबार गरेको छ । जसबाट संस्थाले ४ लाख ८४ हजार ७ रुपैया नाफा आर्जन गर्न सफल भएको छ । गोदावरी नगरक्षेत्रका असंगठित क्षेत्रमा कार्यरत श्रमिक मजदुरहरु आवद्ध रहेको उक्त संस्थामा ७४९ शेयरसदस्य रहेका छन भने संस्थाको शेयरपुँजी ४० लाख ५० हजार ६०० रहेको छ ।
संस्थाकी उपाध्यक्ष सकुन्तला साउँदले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्ताकी सहसचिव कल्पना जोशीले गरेकी थिईन ।



















